२५ असार, काठमाडौं । १६ वुँदे सहमतिको विरोध गर्दै आएका मधेशी मोर्चाभित्रका केही असन्तुष्ट दलहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । मोर्चाका चार दलले गरेकोसार्वजनिक स्थानमा कालो झन्डा गाड्नेदेखि राजधानीमा विरोध जुलुस र विभिन्न सहरमा विरोध सभा गर्ने घोषणा गरेका छन् । मधेसी मोर्चाभित्रको सबैभन्दा ठूलो दल फोरम लोकतान्त्रिकले संविधान निर्माणका लागि गरिएको १६ वुँदे सहमतिमा हस्ताक्षर गरेको थियो ।
समाजवादी संघीय फोरम, सद्भावना पार्टी, तमलोपा र तमसपाले संयुक्त रुपमा आन्दोलन गर्न लागेका हुन् । चार ठूला दलबीच भएको १६ बुँदे सहमति र संविधानको मस्यौदा दुवैको विरोध गरिरहेका यी दलले असार २७ गते सार्वजनिक स्थानहरुमा कालो झन्डा गाड्ने छन् भने २९ गते काठमाडौंमा विरोध जुलुस गर्ने बताएका छन् ।
साउन १ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र कोणसभा गर्नेछन् भने साउन ५, ६, ७ र ८ गते क्रमशः विराटनगर, जनकपुर, वीरगञ्ज र भैरहवामा विरोधसभा गर्ने घोषणामा उल्लेख छ ।











