२५ असार, काठमाडौं । सुन व्यापारीले २४ क्यारेट भन्दै महँगो मूल्यमा बेच्ने सुनमा मिसावट हुने गरेको फेलापरेको छ।
उपभोक्ता ठग्ने यस्ता व्यापारीलाई वाणिज्य तथा आपूर्ति विभागले भने कुनै कारबाही नगरी उन्मुक्ति दिएको छ।
व्यापारीले सुनमा चाँदी र चाँदीमा क्याडमियमजस्ता घातक पदार्थ मिसावट गर्दै आएको रहस्य सार्वजनिक भएको हो।
नेपाल गुणस्तर तथा नापतौल विभागको प्रयोगशालाले परीक्षण गर्दा यस्तो मिसावट पत्ता लागेको हो। तर वाणिज्य विभागले नापतौल विभागले सुनको परीक्षण गरेर दिएको प्रतिवेदनसमेत लामो समयसम्म लुकाएर राखेको छ।
वाणिज्य विभागका हालका अनुगमन अधिकृत तथा निर्देशक हरिप्रसाद बेलबासेको नेतृत्वमा २०७० पुस ८ गते राजधानीका पाँचवटा सुन पसलमा अनुगमन गरिएको थियो।
अनुगमन भएको दुई वर्ष ६ महिना बितिसक्दा पनि विभागले दोषी भनिएका कुनै पनि व्यापारीमाथि कारबाही गरेको छैन । बेलबासे त्यसबेला पनि अनुगमन प्रमुखका रूपमा विभागमा कार्यरत थिए।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अनुगमनपछि वाणिज्य विभागले गहनाका नमुना परीक्षणका लागि पठाएको स्वीकार गरे।
उनले परीक्षण गर्दा सुनमा मिसावट भेटिएकाले आवश्यक कारबाही गर्न वाणिज्य विभागलाई पत्राचार गरिएको जानकारी दिए।
वाणिज्य विभागले त्यसबेला चाबहिल ६ स्थित सनराइज ज्वेलर्स, चाबहिल ७ स्थित माँ आरती ज्वेलर्स, सूर्यमुखी ज्वेलर्स र गुडलक ज्वेलर्स तथा चाबहिलकै त्रिबाबा ज्वेलर्समा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा सनराइज ज्वेलर्सबाट २४ क्यारेट भनिएको सुनको नेकलेस परीक्षणका लागि लगिएको थियो । नापतौल विभागले उक्त सुनमा ९७।७५ प्रतिशत सुन र २।३६ प्रतिशत चाँदी मिसावट भएको प्रतिवेदन दिएको थियो।
त्यसैगरी त्रिबाबा ज्वेलर्सको २४ क्यारेट भनिएको सुनको मंगलसूत्रमा ९७।६० प्रतिशत सुन र १।९० प्रतिशत चाँदी मिसाएको फेलापरेको थियो।
सोही पसलको ९५ प्रतिशत चाँदी भनिएको दियोमा ८०।९० प्रतिशत मात्रै चाँदी र १८।६८ प्रतिशत क्याडमियम भेटिएको थियो।
नापतौल विभागका अनुसार माँ आरती ज्वेलर्सले २४ क्यारेट भनेको सुनको औंठीमा ९६।५५ प्रतिशत सुन र १।४७ प्रतिशत चाँदी भेटिएको थियो।
सोही पसलको २३ क्यारेटको सुनको टपमा ९४।१४ प्रतिशत सुन र ५।२४ प्रतिशत चाँदी भेटिएको छ।
त्यस्तै गुडलक ज्वेलर्सको २४ क्यारेट भनिएको सुनको मंगलसूत्रमा ९५।०७ प्रतिशत सुन र ३।६३ प्रतिशत चाँदी फेलापरेको थियो।
नापतौल विभागको प्रतिवेदनअनुसार सूर्यमुखी ज्वेलर्सको २४ क्यारेट भनिएको सुनको मंगलसूत्रमा ९५।०७ सुन र ३।५ प्रतिशत चाँदी भेटिएको थियो।
सोही पसलको २४ क्यारेट भनिएको सुनको टपमा ९६।२४ प्रतिशत सुन र २।८० प्रतिशत चाँदी फेलापरेको थियो।
वाणिज्य विभागले यसअघि पनि विशालबजार प्रकरणमा प्रमाण र तथ्य फेलापरे पनि अनुसन्धान भएको ३५ दिनभित्र दोषीको बयान लिएर मुद्दा दायर गर्नुपर्नेमा हदम्याद कटाएर व्यापारीलाई उन्मुक्ति दिएको थियो।
सुन प्रकरणमा पनि विभागले ३५ दिने हदम्याद कटाएर व्यापारीलाई उन्मुक्ति दिएको हो।
वाणिज्य विभागका अनुगमन निर्देशक बेलबासेले उक्त प्रकरणमा कुनै पनि व्यापारीसँग बयान नलिइएको जानकारी दिए।
प्रमाण भएर पनि ३५ दिनभित्रमा बयान लिएर मुद्दा दायर गर्नुपर्नेमा गर्न नसकिएको भन्दै उनले लाचारीपन व्यक्त गरे।
‘सुरुमा बयान लिएको कुरा मैले सुनेको थिएँ’, बेलबासेले भने, ‘पछि बयान पनि नलिइएको जानकारी पाएँ।
‘३५ दिनभित्रमा बयान लिएर मुद्दा दायर गर्नुपर्ने थियो तर सकिएन। यसमा विभागले ठूलो गल्ती गरेको छ।’ योभन्दा बढी आफू बोल्न नसक्ने भन्दै उनी जिम्मेवारीबाट पन्छिए।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वाणिज्य विभागले रकमको चलखेल गरेर सुनमा कैफियत गर्ने पाँचै व्यापारीलाई उन्मुक्ति दिएको आरोप लगाए।
महर्जनका अनुसार शुद्ध सुनमा चाँदीको मात्रा र चाँदीमा क्याडमियमको मात्रा शून्य हुनुपर्छ। क्याडमियम मिश्रित चाँदीले मानव स्वास्थ्यमा ठूलो असर गर्छ।
महर्जनले सुनचाँदी व्यवसायी महासंघ, वाणिज्य विभाग र गुणस्तर तथा नापतौल विभागको सहयोगमा केही महिनाअघि ुसुन, चाँदी, हीरा तथा अन्य बहुमूल्य धातुका गहना व्यवसाय तथा कारोबारको मापदण्डु तयार पारेका थिए।












