गोकुल बानियाँ /पोखरा २१ असार ।
पोखराको रामघाटका मजदुरले आफुहरुले ठेक्का नपाए घाट अनिश्चितकालको लागि बन्द गर्ने चेतावनी दिएका छन् । जिल्ला विकास समितिले आवहन गरेको टेण्डर प्रक्रियामा दुई पटक सम्म न्यूनतम रकम सम्म नपरेपछि बढिबढाउको आधारमा अर्को कम्पनीले ठेक्का पाएपछि उनिहरु आन्दोलनमा उत्रिएका हुन् ।
रामघाट बालुवा खानी मजदुर संघर्ष समिति पोखरा ९, १० र ११ ले मंगलवार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समितिका संयोजक कर्ण बहादुर पुनले मंगलवारदेखि असार २७ गते सम्म हातमा कालोपट्टी बाध्ने, असार २८ गते जिविसमा बिरोधपत्र बुझाउने बताए । माग सुनुवाई नभए साउन १ गतेदेखि अनिश्चितकालिन घाट बन्द गर्ने समितिले चेतावनी दिएको छ ।
जिल्ला विकास समिति समक्ष पाँच बुदे माग अघि सार्दै मजदुरहरुले घाटको बालुवाको मुल्य आफैले निर्धारण गर्न पाउनुपर्ने जिकिर गरेका छन् । विगतका बर्षहरुमा आफुले जसरी काम गर्दै आएको हो त्यसैगरी काम गर्न पाउनुपर्ने र सोहि अनुसार जिविसले तोकेको मुल्य मान्न नसकिने मजदुरहरुको अडान छ ।
रामघाटबाट जिविसले प्राप्त गर्ने आम्दानीको ५० प्रतिशत संरक्षणमा खर्च गर्नुपर्ने, राजश्वको नाममा घाट दोहन गर्ने नीति खारेज गरी संरक्षणको बार्षिक योजना सहित ठेक्का सञ्चालन गर्नुपर्ने, रामघाटको विकासको लागि ठेकेदारबाट २५ प्रतिशत सहयोग अनिवार्य हुनुपर्ने र त्यस क्षेत्रका मजदुरको रोजीरोटीको ग्यारेण्टी गर्नुपर्ने उनिहरुको माग छ ।
जिल्ला विकास समितिले सेति किनार रामघाटमा गिट्टी , वालुवा उत्खननका लागि एक करोड ७५ लाखमा आवहन गरेको टेण्डरमा दुई पटक सम्म न्यूनतम रकम पनि नपरेपछि स्थानिय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को दफा १६७ को नियम ४ को उपनियम १ (झ) बमोजिम बढाबढको आधारमा टेण्डर प्रक्रिया टुङ्ग्याएको थियो ।
नियमानुसार दोस्रो पटक सुचना प्रकाशन गर्दापनि वोलपत्र नपरेमा सात दिनको म्याद दिई जमानत वापत राख्नुपर्ने रकम वा बैंक ग्यारेण्टीको किसिम र मान्य अवधि उल्लेख गरेर बढापढ गर्न सक्ने प्राबधान छ । दुईपटक सम्म पनि न्यूनतम रकम नपरेपछि बाध्य भएर बढाबढमा जानुपरेको जिविसका राजश्व शाखा प्रमुख माधब तिमल्सिनाले बताए ।
अघिल्लो बर्ष एक करोड २५ लाखमा सोहि घाटको ठेक्का लिएको स्थानिय मजदुर सम्मिलित पि एण्ड पी कम्पनीले जिविसले आवहन गरेको एक करोड ७५ लाखमा पहिलो पटक ६८ लाख र दोस्रो पटक एक करोड २५ लाख मात्रै प्रस्ताव गरेपछि बढाबढको आधारमा श्री भण्डार थोतुङ निर्माण सेवा प्रालि काठमाण्डौले टेण्डर पारेको छ । सो कम्पनीलाई ठेक्का सम्झौताको लागि अनुरोध पत्र पठाईसकिएको जिविसले जनाएको छ ।
दुई पटक सम्म खुलेको टण्डर प्रक्रियामा अन्य ठेकेदार कम्पनीलाई अघि सर्न नदिएको पि एण्ड पि ले बढावढमा एक करोड ३७ लाख प्रस्ताव गरेको थियो । तर अर्को कम्पनीले जिविसले तोकेको न्यूनतम मुल्यनै प्रस्ताव गरेपछि यसअघिको ठेकेदार कम्पनी पाखा लागेको हो ।
अघिल्लो बर्ष एक करोड २५ लाखमा ठेक्का दिएको जिविसले यो बर्ष ४० प्रतिशत रकम बढाएर एक करोड ७५ लाख पुर्याएको हो । हरेक स्थानीय निकायले जिल्ला भित्रका आन्तरिक स्रोतमा प्रति बर्ष न्यूनतम १० प्रतिशत बढाएर टेण्डर आह्वान गर्न पाउने प्राबधान छ ।
जिल्ला विकास समितिले आन्तरिक आम्दानीको वलियो स्रोतको रुपमा रामघाटलाई लिएपनि त्यस क्षेत्रको संरक्षणमा भने चासो दिएको छैन । घाटमा कार्यरत मजदुरहरुले अहिले घाट संरक्षणलाई मुल मुद्धाको रुपमा अघि सार्दै मजदुरको लगानीमा बिभिन्न संरचना निर्माण गरेको बताएका छन् । संरक्षणको लागि अहिलेसम्म घाटमा तटबन्ध, बाटो, शौचालय, समाजघर निर्माण लगायतका ३६ लाख रुपैया बराबरको काम गरेकोमा जिविसले १३ लाख मात्रै दिएको संघर्ष समितिका कोषाध्यक्ष मनोज रसाईलीले जानकारी दिए ।
स्थानीय निकाय श्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधि २०६९ मा हरेक स्थानीय निकायले आन्तरिक श्रोतबाट प्राप्त गर्ने आम्दानीमध्ये कम्तिमा ३५ देखि ५० प्रतिशत सम्म रकम सम्बन्धित क्षेत्रकै विकास र संरक्षणका लागि लगानी गर्नुपर्ने उल्लेख गरेको छ । तर जिल्ला विकास समितिले यसतर्फ भने ध्यान दिएको देखिँदैन ।













