२२ असार, काठमाडौं । रक्षा सचिव र प्रधानसेनापतिबीच तिव्र द्वन्द्व रहेको भनी संचारमाध्यममा प्रकाशित समाचारको नेपाली सेनाले खण्डन गरेको छ । रक्षा सचिव र प्रधानसेनापतिबीचको सम्बन्धमा विभिन्न पत्रपत्रिाका र अनलाइनहरुमा प्रकाशित समाचार तथा टिकाटिप्पणी अतिरञ्जित भएको दावी समेत सेनाद्वारा मंगलबार जारी विज्ञप्तीमा जनाइएको छ । सैनिक जनसम्पर्क निर्देशनालयद्वारा संचारमाध्यमलाई प्रेषित विज्ञप्तीमा समाचारहरुले नेपाली सेना र सैनिक नेतृत्वको मानमर्दन गरेको आरोप समेत लगाइएको छ ।
सेनाले जारी गरेको विज्ञप्तीका वुँदा यस्ता छन् :
१. हालै केहि पत्रपत्रिका तथा विद्युतीय संचारमाध्यमहरुमा प्रधान सेनापति र रक्षा सचिव बीचको सम्बन्धमा अतिरन्जित टिकाटिप्पणी सहितका विभिन्न शीर्षकहरु राखी प्रकाशित समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।
२. नेपाली सेना सदैव संवैधानिक प्रावधान अनुरुप नेपाल सरकारको मातहतमा रही नेपाल सरकारबाट प्राप्त जिम्मेवारीलाई संयमित, सुझवुझपूर्ण एवं समन्वयात्मक ढंगले सम्पन्न गर्दै आफ्नो गौरवमय परम्परालाई कायम राख्न सफल एक पुरानो संस्था हो ।
३. तसर्थः संवैधानिक प्रावधान अनुरुप नेपाली सेना नेपाल सरकारको मातहतमा रही जिम्मेवारपूर्ण ढंगले कार्य गर्ने संस्था भएकोले प्रधान सेनापति र रक्षा सचिव बीच पनि सुमधुर सम्बन्ध कायम रहिआएको छ । यसरी अतिरञ्जित तवरमा तोडमोड गरी प्रधान सेनापति र रक्षा सचिव बिचको सम्बन्धलाई लिएर प्रकाशित निराधार समाचारहरुप्रति नेपाली सेना खेद प्रकट गर्दछ । साथै, नेपाली सेना र सैनिक नेतृत्वको मानमर्दन गर्ने खालका उल्लेखित भ्रमपूर्ण समाचारप्रति सम्पूर्ण पाठकबर्गहरु सचेत रहने विश्वास नेपाली सेनाले लिएको छ ।











