२२ असार, हुम्ला । नेपाली सेनाले अबको पाँच वर्षभित्र हुम्ला सदरमुकाम सिमकोटमा मोटरबाटो पुग्ने गरी कर्णाली करिडोर खुलालु–लैफु–सिमकोट सडक निर्माणको काम अघि बढाएको छ । निर्माणको जिम्मा नेपाली सेनाले पाएपछि काममा तिव्रता आएको हो ।
विशेष परिस्थितिको भन्दै सरकारले तीन महिनाअघि चैत ५ गते बाटो निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो । १ सय ९६ दशमलव ३४ किलोमिटर लामो बाटो निर्माणको जिम्मा सेनाले पाउनुअघि ६८ दशमलव ५ किलोमिटर ट्रयाक खोलिएको छ । कडा चट्टान रहेको ६ दशमलव ५ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्न बाँकी छ । ६ दशमलव ५ किलोमिटरमध्ये खुलालुदेखि जितेगरासम्म, रकुको रेङ्गिल र जारकोटबाट तोलीभिर खण्डमा कडा चट्टानी भाग रहेको सेनाले जनाएको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४३ र हुम्लामा १ सय १३ दशमलव ३४ किलोमिटर भाग पर्छ । ट्रयाक खोलिएको ६८ दशमलव ५ किलोटिमरमा झण्डै २५ प्रतिशत निर्माणको काम बाँकी रहेको सेनाले जनाएको छ । यस सडकखण्डमा पाँचवटा ठूला पुल बनाउनुपर्ने हुन्छ । बाटो निर्माणका लागि सेनाले अहिले लालीघाट र नानीकोटको राताडाँडामा क्याम्प स्थापना गरी काम गरिरहेको छ । आउँदो आर्थिक वर्षभित्र ६८ दशमलव ५ किलोमिटर बाटोको ट्रयाक निर्माण कार्य पुरा गरी सडक विभागलाई हस्तान्तरण गर्ने सेनाको तयारी छ । ६८ दशमलव ५ किलोमिटर ट्रयाकका लागि पुष मसान्तसम्म २३ करोड ६२ लाख रुपैयाँ खर्च भएको सडक विभागले जनाएको छ ।













