२१ असार, काठमाडौ । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि सोमबारदेखि शून्य लागतको ब्यवस्था सुरु गरेको छ । कम्तिमा १५ दिन शून्य लागतको ब्यवस्था परीक्षणका रुपमा सरकारले लागू गरेको हो । रोजगारीमा जानेसँग अनियमित तवरबाट रकम असुल्दै आएका वैदेशिक रोजगार व्यवसायीहरुले भने अझै पनि निर्णय स्थगित गर्न दवाव दिइरहेका छन् ।
तर श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले कम्तिमा १५ दिन शून्य लागतको ब्यवस्था लागू गर्न वैदेशिक रोजगार ब्यवसायीहरुलाई आग्रह गरेका छन् ।
वैदेशिक रोजगार व्यवसायीहरुको विरोधका बाबजुद सरकारले मलेसिया र खाडीका ६ मुलुकमा शून्य लागतका कामदार पढाउने निर्णय सोमबारबाट लागू गर्ने जनाएको छ ।
सरकारले म्यानपावर व्यवसायीको अहसमतिका बीच शून्य लागत कार्यान्वयन गर्न खोजेपछि ब्यवसायीहरुको प्रतिनिधित्व गर्दै नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष विमल ढकालसहितको पदाधिकारीको टोली सोमबार बिहानै मन्त्री गुरुङलाई भेट्न पुगेको थियो ।
व्यवसायीहरुको रुचिको काम गर्ने आश्वासन दिएर भर्खरै निर्वाचित वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीले ३० लाख नेपाली कामदार फिर्ता हुने दाबी समेत गरेका छन् । कामदार फिर्ता हुने डर देखाउँदै व्यवसायीहरुले दवाव दिए पनि राज्यमन्त्री गुरुङले भने व्यवसायीहरुको कुरामा वास्ता गरेका छैनन् ।
मन्त्री गुरुङले ब्यवसायीहरुको कुरा नसुनेपछि ब्यसवसायीहरु सोमवार नै वैदेशिक रोजगार विभागमा प्रमुखसमक्ष पुगेका छन् ।
श्रम तथा रोजगार मन्त्रालयले गत जेठ २६ गते खाडी मुलुकहरु कतार, बहराइन, साउदी अरब, यूएई, ओमन, कुबेत र मलेसियामा सून्य लागतमा कामदार लैजाने निर्णय गरेको थियो । ६ खाडी मुलुक र मलेसियामा निःशुल्क भिसा र टिकट निःशुल्क गर्ने निर्णय सोमबारदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरिएको हो ।













