२१ असार, झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले गलत नियत भएका मान्छेले सञ्चार जस्तो पवित्र संस्थामा लगानी गरेर आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप लगाएका छन् ।
झापाको दमक स्थित आफ्नै निवासमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । प्रेस स्वतन्त्रताका नाममा सत्यको घाँटी निमोठ्ने काम पत्रकारले नै गरेको आरोप ओलीले लगाए । त्यस्तो अधिकार पत्रकारलाई नभएको धारणा उनले व्यक्त गरे । नेपालको पत्रकारिताले अब राजनीतिलाई कम र विकासलाई बढी प्राथमिकतामा राख्ने बेला भएको भन्दै त्यसका लागि स्वतन्त्र प्रेस आवश्यक छ भन्ने कुरा एमालेले राम्ररी बुझेको तर्क गरे । स्मरणीय छ एमालेले संचार उद्यमीलाई निर्वाचनमा प्रयोग गर्दै महेन्द्र शेरचनलाई सभासद मनोनयन गरेको थियो ।
एमाले अध्यक्ष ओलीले अहिले बन्न लागेको संविधान सबैपक्षसँगको छलफल र सम्झौता पछि आउन लागेको दाबा समेत गरे । सबै दलका मागहरुको सुनुवाइ गरेर साझा दस्तावेज तयार गर्नु परेकोले कुनै पार्टीको पनि अनुकुल हुने गरी संविधान जारी हुन नसक्ने उनले बताए ।
आगामी दिनमा एमालेले स्पष्ट बहुमत ल्याएर संविधानलाई थप लोकतान्त्रिक बनाउने उनको तर्क थियो । संविधानको मस्यौदामा हाल व्यवस्था गरिएको समानुपातिक प्रणालीले थप राजनीतिक अस्थिरता ल्याउने तर्फ संकेत गर्दै ओलीले संक्रमणकाल अन्त्यका लागि एमाले लचिलो बन्नुपर्दा यस्तो भएको बताए । देशमा राजनीतिक स्थिरताका लागि संविधानमा जे जस्तो संशोधन गर्न पनि एमाले तयार रहेको धारणा व्यक्त गरे











