२० असार, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साउनको दोस्रो सातासम्ममा संविधान जारी हुने विश्वास गरेका छन् ।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास भएपछि जनताको राय सुझावका लागि जनताको माझमा लगिने उल्लेख गरे ।
उनले संविधान बनेर नेपालको संक्रमणकाल टुङ्गियोस् भन्ने अन्तर्राष्ट्रिय जगत्को पनि चाहना रहेको छ भन्दै ६०१ जना सभासद् मध्ये एक–दुई दर्जन सभासद्ले विरोध गर्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे ।
उनले संविधान निर्माणमा देखिएको सहमति दलहरुका लागि ऐतिहासिक सफलता भएकाले नयाँ संविधान जारी नभएसम्म दलहरुबीचको यो एकता कायमै रहनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री बन्नुभन्दा पनि जनताबीच नयाँ संविधान दिने आफ्नो पहिलो जिम्मेवारी भएकाले अन्य विषयमा अहिले नसोचेको धारणा प्रकट गरे ।रासस











