१९ असार, काठमाडौं । भूकम्पको मौका छोपेर कारागारबाट फरार कैदीलाई नेपाल प्रहरीले गोली हानेको छ । गए राति १ बजेर ४५ मिनेटमा महानगरीय प्रहरी अपराध महाशाखाबाट गएको प्रहरी टोलीले सन्की भनिने रावणजीत तामाङलाई गोली हानेको हो ।
तामाङ लागु औषध ओसारपसार तथा अपहरण कान्डमा सिन्धुपाल्चोक जिल्ला अदालतले १० वर्ष कैद तोकेका फरार अपराधी हुन् । भूकम्पले जिल्ला कारागार ध्वस्त भएपछि तामाङसहित त्यहाँबाट २ सय १६ कैदी भागेका थिए ।
उनलाई घुडा र घुडामुनि ३ वटा गोली हानिएको प्रहरीले जनाएको छ । तामाङले २०६८ साल असारमा आफूलाई पक्रन आउने एक प्रहरी अधिकारीलाई मराणासन्न हुने गरी पिटेका थिए । उनी उपत्यकामा हप्ता उठाउने कार्यमा समेत संलग्न रहेको प्रहरीको भनाइ छ । डिस्कोबाट तामाङसँगै भक्तपुरका उमेश श्रेष्ठ पनि पक्राउ परेका छन् ।
तामाङ राति डिस्कोमा भएको जानकारी पाएपछि पक्राउ गर्न प्रहरी सुन्धारा पुगेको थियो । प्रहरी आएको थाहा पाउने वित्तिकै तामाङसहित उसको समूह भागेको थियो । भाग्ने क्रममा तामाङ समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले गोली हानेको थियो ।
तामाङको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।











