१७ असार, काठमाडौं । परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले नेपाली भूमि लिपुलेकमाथि भएको व्यापारिक सम्झौताबारे दुबै छिमेकी भारत र चीनसँग सोध्ने काम भइरहेको बताएका छन् ।
बिहीबार अपरान्ह बसेको व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लिपुलेक सम्झौताबारे सरकार गम्भीर रहेको जनाउँदै नेपालको सार्वभौमसत्तामा आँच आउने काम कुनै हालतमा हुन नदिने उल्लेख गरे ।
लिपुलेक नाकाबारे सरकारको ध्यानाकर्षण भएको र सरकारले दुबै छिमेकी मुलुकसँग धारणा मागेको मन्त्री पाण्डेले बताए । सम्बाद भइरहेकाले हाम्रो सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताप्रति भारत–चीन दुबै मुलुक गम्भीर भएको पाएको सरकारले पाएको उनले बताए ।
नेपाल र भारतबीच रहेका सिमा विवादसहितका अन्य समस्यलाई टुंग्याउन गत वर्ष जुलाईमा सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय बैठकमा पनि छलफल भएको बताउँदै मन्त्री पाण्डेले चाँडै हुने सचिवस्तरीय बैठकमा पनि त्यसबारे कुरा उठाउने जानकारी दिए ।











