१५ असार, विराटनगर । जात्रैजात्राको देशमा आज एउटा जात्रा भएको छ रोपाई जात्रा । वर्षभर किसानका नाउँमा राजनीति गरेर ओहोदामा पुगेपछि किसानलाई विर्सने उपप्रधानमन्त्री वामदेव गौतमदेखि व्यापारीको पैसामा विदेश घुम्ने उर्जामन्त्री राधा ज्ञवालीसमेत आज रापाइँजात्रामा सहभागी भए । वामदेवहरुको देखासिकीले पछिल्ला वर्षहरुमा कांगे्रसले पनि रोपाईजात्रा गर्न थालेको छ ।
किसानका लागि वर्षमा एक दिन राजनीतिज्ञहरुले गर्ने यस्तो जात्रालाई जवाफ दिने गरी यातायात मजदुरहरुले विराटनगरमा अर्को जात्रा देखाएका छन् । यातायात मजदुरहरुले विराटनगरको वस पार्कमा रोपाई गरेर जात्रा देखाएका हुन् । असार १५ को अवसर पारेर नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, तथा पूर्व नेपाल यातायात व्यवसायी संघका पदाधिकारीहरुले वसपार्कमै धान रोपेका हुन् । विगत लामो समयदेखि विराटनगर वसपार्क हिलाम्य हुँदा पनि सरकार तथा विराट उपमहानगरपालिकाले बेवास्ता गरेको भन्दै विरोधस्वरुप मजदुरहरुले वसपार्कमा रोपाई गरेका हुन् । वसपार्कका धान रोप्न सहभागी मजदुरहरुले धान फलाएर प्रधानमन्त्रीलाई उपहार पठाउने बताएको विराटनगरका पत्रकार अभय राईले जानकारी दिए ।
तस्वीर : अभय राई











