१३ असार, काठमाडौं । संविधानसभाको मस्यौदा समितिले संविधानको पहिलो एकीकृत मस्यौदा पारित गरेको छ। सिंहदरबारमा आइतबार अपरान्ह बसेको बैठकले मस्यौदा पारित गरेको हो।
मस्यौदा पारित भएपछि सोमबार बस्ने संविधानसभाको बैठकमा यसलाई प्रस्तुत गर्ने तयारी छ।यसअघि बालुवाटारमा आइतबार बसेको मुख्य दलका शीर्ष नेताहरुको बैठकले केही विषयमा मतभेद भए पनि संविधानको मस्यौदालाई संविधानसमा पेस गरेर जनतामा लैजाने निर्णय गरेको थियो।
विशेष कार्यदलले संविधानको एकीकृत मस्यौदा तयार गरेर मस्यौदा समितिमा पेस गरे पछि त्यसमा नमिलेका केही विषयलाई टुंग्याउन बिहानदेखि बालुवाटारमा बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित कांग्रेस, एमाले, एमाओवादी, मधेसी मोर्चाका प्रमुख नेताहरुको सहभागिता थियो।
एमाओवादीका नेता डा. बाबुराम भट्टराईले चार दलको वैठकले संविधानको प्रारम्भिक मस्यौदामा मोटामोटी सहमति गरेर जनतामा रायसुझावनिम्ति प्रस्तुत गर्ने र सहमति कायम हुन वाँकी विषयमा अन्तिम घडीसम्म छलफल गर्दै जाने व्यवहारिक निर्णय गरेको बताए। उनले टवीट्मा उनले भनेका छन्, ‘आशा गरौं छिटै सम्विधान जारी हुनेछ।’
अधिकांशमा सहमति भएर लिपीवद्ध भए पनि कतिपय विषयमा दलहरुबीच सामान्य विवाद देखिएकोले त्यसलाई पनि टुंग्याएर विवादरहित मस्यौदा संविधानसभामा लैजानका लागि दलहरु निरन्तर छलफल र परामर्शमा जुटेका छन्। त्यही प्रयासमा शनिबार राति अबेरसम्म बैठक बसेको थियो र आइतबार पुनः शीर्ष बैठक बोलाइएको हो।
खासगरी प्रस्तावना, नागरिकता, मौलिक हक, संवैधानिक निकायका पदाधिकारीको पुर्ननियुक्ति, बहुलवादलगायतका विषयमा दलहरुबीच सामान्य मतभेद देखिएको छ। यी विषयमा सहमति भए लिविवद्ध गरेर अघि बढ्ने सहमति नभए पनि मतदानबाट टुंगो लगाउने समझदारी भएकोले प्रक्रिया रोकिने अवस्था छैन ।
संविधानसभाले पन्ध्र दिनभित्र मस्यौदा बनाएर प्रस्तुत गर्न निर्देशन दिदै दुई साताअघि संवैधानिक समितिको प्रतिवेदन मस्यौदा लेखनका लागि मस्यौदा समितिमा पठाएको थियो ।











