१३ असार, धनुषा । नेपाल यातायात मजदुर संगठन धनुषाले दुई दिनदेखि सार्वजनिक यातायात हड्ताल गरेपछि यात्रीहरु मर्कामा परेका छन् ।
संगठनको बन्दले जनकपुरबाट छुट्ने दिवा सेवाका सम्पूर्ण यातायात ठप्प भएपछि अत्यावश्यक कामले बाहिर जानेहरु अलपत्र परेका हुन् ।
शुक्रबार दिउँसो जटही जनकपुर सडक खण्डमा ज १ ख ५०१ नम्बरको यात्रुबाहक बसमा पाँचजना लागूऔषध खाएका युवाहरु जबरजस्ती चढेका थिए ।
ती युवाहरुले ब्लेडले काटेर बसको सिटहरुमा लागूऔषध लुकाउन थालेपछि सह–चालक सज्जन झासँग विवाद भएको थियो । झासँग झगडा गर्दै ती युवकहरु गुडिरहेको बसबाट हामफालेका थिए ।
झाले उनीहरुलाई रोक्न खोज्दा उनलाई पनि तानेर लडाएका थिए । सहचालक झासँग विवाद भएको देखेपछि चालक शम्भु मिश्रले बस रोकेर विवाद सल्टाउन खोज्दा पाँचै युवाले झा र मिश्र दुवैलाई कुटपिट गरेका थिए ।
चालक र सहचालकलाई युवाहरुले कुटेको देख्दा बसका केही यात्रुहरुले गर्दै प्रहरीलाई फोन गरेका थिए । कुटपिटबाट बसका चालक मिश्रको छातीको हाड भाँचिएको मजदुर संगठन धनुषाका अध्यक्ष रामदयाल चौधरीले जानकारी दिए ।
घटनालगत्तै समातिएका पाँच जना युवाहरु मध्ये दुईजना माथि प्रहरीले लागूऔषध र अन्यलाई सार्वजनिक अपराधमा मुद्दा चलाएको छ ।
उनीहरुसँगै बसका सहचालक झा र चालक मिश्रमाथि पनि सार्वजनिक अपराधको मुद्दा चलाउँदै थुनेर राखेकोले निर्दोषमाथि प्रहरीको ज्यादतीविरुद्ध आफूहरु आन्दोलित भएको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बताए ।
बस व्यवसायीहरुले आइतबार निजी सवारी साधान आवतजावतमा समेत अवरोध गरेका थिए । आफुहरुको माग पुरा गरी सहचालक र चालकलाई शिघ्र नछाडिए सशक्त आन्दोलन गर्ने संगठनले चेतावनी दिएको छ ।













