१३ असार, काठमाडौं । खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई एमालेले फिर्ता बोलाएको छ। एमाले अध्यक्ष केपी ओलीले एकलौटी रुपले पौडेललाई फिर्ता बोलाएको एमाले स्रोतले जनाएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा पौडेलले माधव नेपाल निकट व्यक्तिलाई नियुक्त गरेपछि ओलीले मन्त्री पौडेललाई फिर्ता बोलाएको हो।
पौडेलले यही असार १० गते केशव विष्टलाई परिषद्को सदस्य सचिवमा नियुक्त गरेपछि एमाले अध्यक्ष ओलीले नियुक्ति रद्द गर्न समेत आदेश दिएका थिए । ओलीले आफू निकटका व्यक्तिलाई सदस्य सचिवमा नियुक्ति गर्ने तयारी गरीरहँदा पौडेलले आफूखुशी नियुक्ति गरेपछि ओली चिढिएका हुन् । ओली निकट मानिने तिम्सिना थरका व्यक्ति सदस्य सचिव बन्ने दौडधूपमा लागेका थिए ।
यसैबीच नेता माधव नेपालले ओलीलाई पार्टी एकलौटी ढंगले चलाउन खोजेको आरोप लगाएका छन् । ओली अध्यक्ष बनेपछि बारम्बार यस्तो आरोप लगाउँदै आएका नेता नेपालले सदस्य सचिव नियुक्तिमा पनि एकलौटी तानाशाही लाद्न खोजेको प्रतिक्रिया दिएका छन् ।











