१२ असार, काठमाडौं । उपत्यका सडक विस्तार आयोजनाले धोवीखोलामा हचुवाका भरमा बनाइएको डाइभर्सन आफैं भत्काएको छ । डाइभर्सन उपयोगी नहुँदा यसबाट सरकारको करिब ७० लाख रुपैयाँ नास भएको छ ।
पानीको बहाव थेग्न नसक्ने गरी आयोजनाले डिजाइन गरेको उक्त संरचनाको निर्माण सम्पन्न भएको डेढसातामात्र भएको थियो । आयोजनाले बिजुलीबजारस्थित धोवीखोलामा निर्माण गरेको तल्लो र माथिल्लो डाइभर्सन भत्काएको अन्नपूर्ण पोस्टमा खबर छ ।
दीर्घकालीन असर प्रक्षेपण नगरी हचुवाका भरमा निर्माण गरिएका कारण डाइभर्सन भत्काउनुपरेको हो । केही दिनअघि धोवीखोला र बागमतीमा आएको बाढीको पानी डाइभर्सनले रोकेपछि आसपासका बस्ती डुवानमा परेका थिए । डाइभर्सनका कारण खोलामा आएको बाढी थुनिएर घरघरमा पसेपछि स्थानीय बासिन्दाले चर्को विरोध गरेका थिए ।
धोबीखोला र बागमतीमा वर्षायममा आउने बाढीले बिजुलीबजार, शान्तिनगर, सुकमबासीबस्ती, सामुदायिक पार्क, तरकारी बजार र सिनामंगलआसपासका बस्तीहरु बर्सेनि डुबानमा पर्दै आएका छन् ।












