८ असार, काठमाडौं । सरकारले बिहीबार काठमाडौंमा गर्न लागेको अन्तरर्राष्ट्रिय दाता सम्मेलनको तयारी पूरा भएको छ ।
अर्थ मन्त्रालयले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलनमा सहभागी हुने दाताहरुसँग सकेसम्म सहायता र अनुदानका लागि आग्रह गर्ने, नसके सहुलियतमा ऋण माग्ने नेपाल सरकारको तयारी छ । सरकारले विदेशी दाताहरुसँग सकेसम्म अनुदान सहयोगको अपेक्षा गरेको तर, अनुदान सहयोग नपाए सहुलियत दरमा दीर्घकालीन ऋणको अपेक्षा गरिएको अर्थमन्त्री डा. रामशरण महतले जानकारी दिए । उनले दाता सम्मेलनमा ऋण मिनाहाको कुनै प्रस्ताव नगर्ने प्रस्ट पारे । सरकारले दाताहरुसँग रकमै तोकेर सहायता नमाग्ने मन्त्री महतको भनाइ छ । सम्मेलनमा ५३ देशका २ सय ३९ दाताहरु सम्मेलनमा सहभागी हुने महतले जानकारी दिनुभयो । मन्त्री महतले पुनर्निर्माणमा सरकारले मात्रै खर्च नगरेर व्यक्ति स्वयं, समुदाय र निजी क्षेत्रले पनि गर्ने जानकारी दिए ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले पुननिर्माणका लागि नेपालभित्रकै स्रोत र साधनले प्राथमिकता पाउने जानकारी दिए । यसअघि परराष्ट्रमन्त्रीलाई दाता सम्मेलनमा जिम्मेवारी नदिइएको भन्दै पाण्डेले असन्तुष्टी व्यक्त गरेका थिए । मंगलबारको पत्रकार सम्मेलनमा भने दुवै मन्त्री एकसाथ देखिए ।
सरकारले दाता सम्मेलनमा २३ एकल, ४० बहुपक्षीय, ४ एजेन्सी र २ व्यक्तिलाई दाता सम्मेलनमा बोलाएको छ ।











