७ असार, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले संबिधान लेखनका बिषयमा भईरहेको छलफलमा बिषयमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग जानकारी लिएका छन् ।
शितल निबासमा सोमबार भएको भेटमा राष्ट्रपति यादवले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच सुमधुर सम्बन्ध कायम रहनुपर्ने दोहोर्याएका थिए । यादवले संविधान लेखन प्रक्रियालाई चाँडो सम्पन्न गर्न आग्रह गर्दै राज्यका प्रमुख तीन निकायको बीचमा विवाद बढाउन नहुनेमा जोड दिएको सभाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो । भेटमा नेम्वाङले संविधानसभाको परिधिभित्र नै रहेर संविधान लेखनको कार्य अघि बढाउने बताएका थिए ।
न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले गत शुक्रबार दलहरुबिच भएको १६ बुँदे सहमति अन्तरिम संविधानको भावना विपरीत रहेको जनाई कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
यसैबीच राष्ट्रपति यादवले सोमबार ‘भूकम्प प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश–२०७२’ प्रमाणीकरण गरेका छन् ।
आइतबार साँझ भएको मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम सो अध्यादेश प्रमाणीकरण भएको जनाइएको छ । अध्यादेशमा पुनःनिर्माणका लागि प्राधिकार प्राप्त प्रधानमन्त्रीको अध्यक्षतामा परामर्श समिति, नीति निर्माण र अनुगमनका लागि बेग्लै समिति तथा एक प्रमुख कार्यकारी अधिकृतको व्यवस्था भएको बुझिएको छ ।











