१ असार, सिन्धुपाल्चोक । बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट आफ्नो श्रीमती, छोरा, दीदी र घरवार सहित सर्वस्व गुमाएका रत्न फाउण्डेशनका अध्यक्ष कमल श्रेष्ठ आफनो दुःखलाई थाती राख्दै अरुको दुखमा साथ दिन सिन्धुपाल्चोकमा राहत वितरण गरिरहँदा यसरी नै हिक्क हिक्क मात्र गरिरहे, तर उनी रुन सकेनन् आँखाबाट आसु नै आएन ।
भूकम्पले काठमाडौंको कपनस्थित घरमा अध्यक्ष श्रेष्ठकी पत्नी सोनी श्रेष्ठ, १८ वषीय छोरा क्याविन श्रेष्ठ, ६३ वर्षीया दिदी आशामाया श्रेष्ठको भूकम्पमा परी निधन भएको थियो ।
उनले आफ्नो सबै परिवारसहित सर्वस्व गुमाए पनि आफू जन्मेको गाउँमा अरुको दुःमा साथ दिन पाउँदा आफू भाग्यमानी भएको र आफ्नो मुटुलाई दह्रो बनाएर आफनो दु:खलाई थाती राख्दै अरुको दुःखमा साथ दिन राहत वितरणमा लागि परेको बताए ।
वैशाख १२ गते गएको महाबिनाशकारी भूकम्पबाट सबै भन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकमा रत्न फाउण्डेशनले राहत वितरण गरेको हो । जिल्लाको जलविरे गाविसका २, ४, ५ र ६ का करिब ३५० स्थानीय घरधुरीलाई रत्न फाउण्डेशन तथा जर्मन साथीको सहयोगमा झण्डै ३८ लाख बराबरको राहत वितरण गरिएको फाउण्डेशनका अध्यक्ष कमल श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले ३५० घरधुरीलाई एक बण्डल जस्तापाता, झुल, पानी फिल्टर र कम्मल वितरण गरिएको बताए ।
जर्मन नागरिक बाल्टा हेकेनुले नेपालको महाबिपत्तमा रत्न फाउण्डेशनको सहकार्यमा भूकम्प पिडितहरुलाई राहत वितरण गर्न पाउँदा खुसी लागेको बताए । उनले आफ्नो तर्फबाट सक्दो बढी सहयोग जुटाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
रत्न फाउण्डेशन तथा जर्मनी साथीको सहयोगमा रातह वितरण सँगै स्थानीय आनन्द उच्च माध्यमिक विद्यालयको भूकम्पबाट क्षतिग्रस्त भवन निर्माण तथा पुर्नस्थापनाका लागि ७ लाख ५० हजार नगर सहयोग समेत गरिएको थियो ।
प्राप्त रकमले विद्यालयको क्षतिग्रस्त भौतिक पूर्वधारमा खर्च गरिने विद्यालय परिवारले जनाएको छ । भूकम्प पश्चात परिवारहरु बिस्थापित सँगै विद्यार्थीहरु पनि पलायन भइरहेको विद्यालयले जनाएको छ । भूकम्पबाट सिन्धुपाल्चोक जिल्लाको जलविरेमा ३० जनाले ज्यान गुमाएका छन भने हजारौं परिवार घरवारविहीन भएका छन । जलबिरेमा अधिकांश घर भत्किएको छन् ।
हेर्नुहोस् भिडियो पनि : (भिडियो सौजन्य : नेपाल वान टेलिभिजन)













