२४ जेठ, नेपालगंज । नक्कली भारतीय रुपैयासहित नेपालगन्जबाट एकजना पक्राउ परेका छन् । एकलाख ५० हजार नक्कली भारतीय रुपैयासहित नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूहले नेपालगन्ज २५ सुर्जीगाउँका ४० बर्षिय सुबास भण्डारीलाई शनिबार राती घरबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आइतबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार भारतीय नक्कली नोटको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले भण्डारीलाई नक्कली एकहजार र पाँचसय रुपैयाका नोटसहित पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान इकाईका प्रमुख डिएसपी अशोक सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेका भण्डारीले नेपालगन्ज बुलबुलियाका राजु कवाडियाले आफुलाई कमिशन दिनेभन्दै नक्कली भारु रुपैया दिएको बयान दिएका छन् । भण्डारीको घरमा अन्य व्यक्तिलाई सो रुपैया दिन लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । कवाडिया नक्कली रुपैयाको
कारोबारमा फरार अभियुक्त भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भण्डारीले आफुले एकलाख नक्कली रुपैया बजारमा पठाएपछि पाँच हजार रुपैया कमिशन पाउने सहमती भएको बताउनुभयो । नक्कली भारतीय रुपैया आफुले थाह पाएरै काम गरेको भण्डारीको भनाई छ
प्रहरीले प्रारम्भिर अनुसन्धानबाट नक्कली भारतीय रुपैया भारतीय बजारमा पठाउने योजना देखिएको जनाएको छ ।
खोटाचलन अन्तर्गत बिगोसहितको जरिवाना र १० बर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । विदेशी मुद्राको हकमा विगोसहितको जरिबाना र पाँचबर्ष कैद हुने व्यवस्था रहेको छ ।











