२१ जेठ, काठमाडौं । सरकारले नेपाल भर म्यागी चाउचाउको बिक्री र आयातमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।
म्यागी चाउचाउमा मानव स्वास्थ्यमा असर पार्ने ‘खतरनाक’ केमिकल पाएको भन्दै भारतका विभिन्न राज्यमा बिक्रीवितरणमा रोक लगाएपछि नेपालले तत्कालका लागि बिक्री र आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
‘भारतको सबै कुरा बुझिसकेपछि अर्को सूचना जारी नभएसम्म बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाउन निर्देशन दिइसकेका छौं,’ कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले भने, ‘भोलिबाट निर्देशन कार्यान्वयनमा आउने छ।’
खाद्य तथा गुण नियन्त्रण विभागले म्यागी चाउचाउको नमूना ल्याएर अनुसन्धान गर्दै परीक्षण प्रतिवेदन नआएसम्म बिक्री र आयातमा रोक लगाउनुपर्ने प्रस्ताव सरकारलाई गरिसकेको थियो।
सचिव भट्टराईले म्यागी चाउचाउको उपभोग नगर्नसमेत सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले बजारमा मौज्दात रहेका सबै म्यागी चाउचाउ फिर्ता गर्न निर्देशन दिइसकेको जानकारी दिए।
विभागका महानिर्देशक सञ्जिव कर्णले सोमबार नै उपत्यकाका विभिन्न स्थानबाट म्यागीको नमूना ल्याएर परीक्षण थालेको बताए। उनका अनुसार म्यागीको नेपालको आधिकारिक बिक्रेतालाई बोलाएर बिक्रीको बारेमा जानकारी लिने तयारी भइरहेको छ।











