कुवेर डंगोल
१९ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको यमुनाडाँडास्थित शीला पर्वतमा हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार चालक सहित चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मध्यपुर ठिमी वडा नम्बर १५ घर भएका चाल सुबेग श्रेष्ठ, डाक्टर अमितकुमार सिंह, शेरबहादुर कार्कीसहित एक जना डच महिलाको मृत्यु भएको हो ।
हेलिकोप्टर तातोपानी क्षेत्र हुँदै तल तल उड्दै आएको हेलिकोप्टर शीला पर्वत नजिकबाट खसेको प्रत्यक्षदर्शीहरुले बताए ।
खिम्ती र भोटेकोशीको केन्द्रीय प्रसारण लाइनसँग ठोक्किएपछि धुवाको मुस्लो निकाल्दै हेलिकोप्टर जंगलमा खसेको हाम्रा संवाददाता कुबेर डंगोलले जानकारी दिए ।
हेलिकोप्टर खसेपछि धुँवा र धूलो उड्नासाथ स्थानीय बासिन्दा भूकम्प र पहिरो आयो भन्दै भागाभाग गरेका थिए । दुर्घटनास्थल सिन्धुपाल्चोकको बलेफीको पारिपट्टी पर्छ ।
माउन्टेन एयरका अनुसार हेलिकोप्टरमा मेडिकल टीम थियो । विहान छोडेर आएको मेडिकल टीम लिएर आउने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।
हेलिकोप्टर दुर्घटना भएलगत्तै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकको टोली घटनास्थलमा पुगेर उद्धार थालेको थियो ।
दुर्घटनामा मृत्यु हुने चारै जनाको शव काठमाडौं ल्याइएको छ ।
तस्वीर : कुवेर डंगोल











