१९ जेठ, गोरखा । भूकम्पको केन्द्रविन्दु रहेको गोरखा जिल्लामा राहत वितरण गर्ने संघ संस्थाहरुको लर्को लागे पनि तिनीहरुले अर्थमन्त्री डा. रामशरण महतकै शैलीमा भ्रष्ट्राचार गरेको खुलासा भएको छ । अर्थमन्त्री महतले एकद्वार प्रणालीबाट सरकारमार्फत जस्ता पाता वितरण गर्ने भने पनि उनकै सहयोगी तथा भतिज रमेश महतमार्फत नुवाकोटमा जस्ता पाता विक्री गरेको खुलासा भएजस्तै गोरखामा पनि विभिन्न संघसंस्थाहरुले राहतका लागि लगेका जस्ता पाता लुकाएको खुलेको छ ।
गोरखा सदरमुकामको खोलखोलेमा रहेको कोकाकोलाको डिलरमा पेप्सीको बोत्तलले छोपेर लुकाएर राखिएको जस्तापाता भेटिएको छ । ‘पिपुल इन लिड’ नामक संस्थाले उक्त जस्ता राखेको हो।
एकद्वार प्रणालीबाट राहत बितरण गरिएको गोरखामा उक्त संस्थाले जस्ता ल्याएको र बितरण गर्ने गाविस बारे जिम्मा लिएको जिल्ला दैविप्रकोप उद्धार समितिलाई जानकारी छैन । संस्थाका सुदिप जोशीले दुर्गम गाविसमा बितरण गर्न ल्याएको बताएपनि लुकाएर राखिएको शंकास्पद अवस्थामा जस्ता भेटिएको हो।
अहिले गोरखा सदरमुकाम र ग्रामिण बजारमा जस्तापाता अभाव छ। अभावकैबीच महँगोमा बिक्री गर्न र संस्थागत जस्ता बितरण गर्दै आएकहरुले लुकाएर राहतको जस्ता बिक्री गर्न राखिएको आशंका गरिएको छ । लुकाएर राखिएको करिब पाँच सय पाताभन्दा बढी जस्ता छ।













