वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाको निर्देशनपछि नेपाल आयल निगम आज मध्यरातदेखि पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णयबाट पछि हटेको छ। भूकम्पको बेलामा राहत दिनु पर्नेमा मूल्य बढाएको भन्दै मन्त्रीकै आलोचना भएपछि उनले तत्कालका लागि मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएका हुन्। यसअघि मन्त्री थापा, वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायसहित निगम व्यवस्थापनको बैठकले मूल्य बढाउने निर्णय गरेको थियो। निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘भर्खरै मन्त्रीज्युको निर्देशन पछि हामीले बढेको मूल्य स्थगित गरेका छौँ। भूकम्पबाट समस्या परिरहेको बेला मूल्य बढाउनु उचित नहुने देखिएकोले भाउ बढाउने निर्णय फिर्ता भएको हो।’
निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको थियो।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ मूल्य बढेको निगमले जनाएको थियो।
पछिल्लो पटक निगमले चैत १९ गते मूल्य हेरफेर गरेको थियो। राहत चाहिएकोबेला मूल्य बृद्धिले आहत दिएको भन्दै निगमलाई मूल्य नबढाउन चौतर्फी दवाव आएको थियो ।











