१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले राहतका लागि आएको जस्ता पाता आफ्नै सहयोगीलाई लगाएर विक्री गर्न लागेको भन्दै नुवाकोटवासीले विरोध गरेपछि काठमाडौंको प्रायोजित क्लबमा पैसा तिरेर सहयोगी रमेश महतको पक्षमा अभिव्यक्ति दिएका छन् । निश्चित रकम लिएर राजनीतिज्ञदेखि दुतावास र दलालहरुको पक्षमा साक्षात्कार गर्ने र संचारमाध्यमलाई झुक्याएर त्यस्ता कार्यक्रममा बोलाउने अनि टेलिभिजनको क्यामेरा देखाएकै भरमा पैसा असुल्ने क्लबमा गएर मन्त्री महतले आफ्नो कर्तुत ढाकछोप गर्ने प्रयास गरे ।
तर मन्त्री महतकै जिल्ला नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जस्ता काण्डबारे छानविन गर्नु पर्ने बताएका छन् ।
अर्थमन्त्री डा. रामशरण महतले राजधानीमा प्रायोजित क्लबमा आफ्नो वचाउ गरे पनि नुवाकोटवासीले भने महतको विरोध गरेका कारण शनिबार साँझसम्म पनि नुवाकोट तनावग्रस्त छ । सहयोगी रमेश महतले राहतको जस्ता विक्री गर्न लागेको भन्दै स्थानीयबासीले नियन्त्रणमा लिएपछि छहरेमा तनाव छ ।
शुक्रबार साँझबाट सुरु भएको तनाव अझै कम भएको छैन । अहिले पनि जस्ता भएको ट्रकलाई प्रहरीले सुरक्षा दिएको छ भने स्थानीयबासी आन्दोलित छन् ।
कांग्रेस नुवाकोटका सचिव समेत रहेका रमेश महतले राहतका लागि आएको जस्ता काठमाडौं फिर्ता लगेर बेच्न खोजेको स्थानीयबासीको आरोप छ । स्थानीयका अनुसार विकास महतको घरमा ३० बण्डल जस्ता झारेपछि बाँकी २७० बण्डल जस्ता बोटेर ट्रक काठमाडौं र्फकन खोजेको थियो ।
तर, अर्थमन्त्री महत र उनका सहयोग रमेश महतले भने आरोपको खण्डन गरेका छन् ।
घटनाबारे बुझ्दा नुवाकोटका प्रमुख जिल्ला अधिकारी निरौलाले भने ‘यसबारे छानविन गर्नुपर्छ । भोलि जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठक बोलाइएको छ । त्यहाँ यो विषय राख्छु ।’
उनका अनुसार इन्भेष्टमेन्ट बैंकले नुवाकोटका स्कुलहरुका लागि पठाएको यो ३०० बण्डल जस्तापाताबारे जिल्ला दैवि प्रकोप उद्धार समितिलाई कुनै जानकारी नै थिएन ।
कसले पठाएको र कहाँ वितरण हुने भन्ने जानकारी नगराइको भन्दै उनले भने – ‘स्कुलहरुलाई भनेर पठाएको एवान क्वालिटीको रंगिन जस्ता पाता रहेछ । समितिमार्फत आएको भए त कुनै समस्या नै हुने थिएन नि ?’
जस्ता प्रकरणमा छानविन हुनु पर्ने भन्दै उनले भने ‘यस्ता कुरालाई छाड्नु हुँदैन । नत्र अरुले प्रश्रय पाउँछ ।’











