जेठ १४, भारत । बलिउड अभिनेता अमिताभ बच्चनले नेपालमा महाभूकम्पले पारेको ठूलो जनधनको क्षति भएकोमा चिन्ता व्यक्त गरेका छन् । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग बुधबार अपरान्ह मुम्बईबाट फोनवार्ता गर्दै नायक बच्चनले आफ्नो मन–मष्तिष्कमा सदैव सुन्दर नेपालको चित्र कुँदिएर रहेको बताएका थिए ।
“सन् १९५४ मा आफ्ना पितासँग नेपाल घुम्न गएको र त्यसपछि ‘खुदा गवाह’ र ‘महान’ जस्ता फिल्म छायांकन क्रममा नेपाल गएको स्मरण बच्चनजीले गर्नुभएको थियो,”राजदूत उपाध्यायले भने, “नेपाली जनताले मप्रति दर्शाएको माया र सद्भाव म अझै पनि स्मरण गरिरहेको छु ।”
बच्चनले नेपाललाई बिपत्ती आइपरेको बेलामा कुनै पनि प्रकारले सहयोग दिन आफू तत्पर रहेको बताएका थिए । बच्चनले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थापना गरेको राहत कोषमार्फत ११ लाख भारतीय रुपैयाँ नेपालका भूकम्प पीडितको सहयोगमा पठाइसकेका छन् ।
फोनवार्ताका क्रममा राजदूत उपाध्यायले नायक बच्चनको सद्भाव र सदासयताका लागि कृतज्ञता जनाएका थिए । “ट्वीटर, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत तपाईंले नेपाललाई सहयोग गर्ने र नेपालप्रति सद्भाव बढाउने काममा चलाउनुभएको अभियानको हामी सबै नेपालीले सह्राअना गरेका छौं,”राजदूतले नायक बच्चनलाई फोनमा भने ।
नायक बच्चनले नेपाल पठाउन केही राहत सामग्री संकलनको काम पनि भैरहेको जानकारी दिंदै कुनै संस्थामार्फत सामग्री नेपाल पठाउन पहल भैरहेको राजदूतलाई बताएका थिए ।












