१४ जेठ, काठमाडौं । सरकारले यसपटक गणतन्त्र दिवस नमनाउने भएको छ । विनाशकारी भूकम्पले देशमा ठूलो जनधनको क्षति भएकाले गणतन्त्र दिवस नमाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार जेठ १५ गते गणतन्त्र दिवस नमनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री डा.मिनेन्द्र रिजालले जानकारी दिए । लोकतन्त्र स्थापनापछि राजतन्त्रको अन्त्य भएको दिनको स्मरणमा जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ । बैठकले आगामी असार १० गते दातृ समुदायको सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । यसैगरी बैठकले गत फागुनमा बलात्कारपछि मृत्यु भएकी पूजा साहको परिवारलाई क्षतिपूर्ति स्वरुप ६ लाख रुपैंया दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवसको अवसरमा ५ सय ४१ कैदी बन्दीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । पचास प्रतिशत कैद भुक्तान गरेका, राम्रो चाल चलन भएका, ७० वर्ष नाघेका र अशक्तलाई प्राथमिकता दिने तयारी भएको मन्त्री रिजालले जानकारी दिनुभयो ।
त्यस्तै मन्त्रीपरिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागका प्रमुखमा दिलीप रेग्मी नियुक्त गरेको छ । यसअघि विभागको प्रमुखको जिम्मेवारी जितबहादुर केसीले सम्हाल्नुभएको थियो । बैठकले अनुसन्धान विभागको रिक्त एआईजी पदमा गणेशराज अधिकारीलाई बढुवा गरेको छ । त्यस्तै नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा संजिव गौतम र नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकारलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री रिजालले जानकारी दिए ।
यसैगरी बैठकले प्रधानमन्त्री राहत कोषलाई सहयोग गर्न बलिउड अभिनेत्री मनिषा कोइराला, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सद्भावना दूत बनाउने निर्णय गरेको छ ।











