२८ वैशाख, काठमाडौं । धेरै दिनसम्म विद्यालय बन्द हुँदा शैक्षिक अवस्था बिग्रनुका साथै विद्यार्थीको मनोबल पनि थप बिग्रने भन्दै सरकारले जेठ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।
तर भूकम्प प्रभावित धेरै जिल्लाका सरकारी तथा निजी
विद्यालय भत्किएका छन् । विद्यालय भत्किएपछि लाखौं विद्यार्थीको पढ्न जाने ठाउँ गुमेको छ । सरकारले जेठ १ गतेदेखि सरकारी विद्यालय सञ्चान गर्ने निणर्य गर्यो तर भवन लगायत अन्य शैक्षिक सामाग्री नष्ट भएकाले कक्षा सञ्चालन गर्नै समस्या छ र विद्यार्थी पनि मनोवैज्ञानिक रुपमा विद्यालय जान तयार नभएका जस्ता देखिन्छन् । संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफ नेपालकी संचार अधिकृत रुपा जोसी भन्नुहुन्छ ‘सरकारले जेठ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने त भन्यो तर सिन्धुपाल्चोक, धादिङ लगायतका जिल्लामा ९० प्रतिशत विद्यालयका भवन नै छैनन् ।’ उहाँको विचारमा सबैभन्दा पहिले टहरा ठड्याएर भएपनि पढ्नको लागि वाताबरण छ है भन्ने बनाउनुपर्छ । ।
युनिसेफको तथ्यांकअनुसार भूकम्पले २४ हजार कक्षाकोठा नष्ट हुँदा १० लाख विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन् । भूकम्पले कक्षाकोठा मात्र होइन लाखौंको संख्यामा शैक्षिक सामग्री पनि काम नलाग्ने भएका छन् । तत्काल भत्किएका विद्यालयको निर्माण गर्न पनि सम्भव छैन । युनिसेफकी सञ्चार अधिकृत जोशी भन्नुहुन्छ ‘विद्यार्थीलाई विद्यालयमा प्याकेज सहितको पढाइको व्यावस्था गर्न सक्यो भने मात्र उपस्थिती बढ्न सक्छ तर यही अवस्थामा विद्यार्थी पढ्न जान तयार छैनन् ।’
ठूलो प्रयासपछि सरकारले विद्यार्थीको भर्नादर ९५ प्रतिशतमा पुर्याएको छ तर भूकम्पको क्षतिपछि यो सफलतामा पनि धक्का लाग्न सक्छ । किनकी यसवर्ष भर्ना अभियान सकिन नपाउँदै भूकम्पले शैक्षिक संस्था भत्काइदियो र विद्यार्थी पनि मानसिक त्रासमा छन् । कमसेकम सबै विद्यार्थी भर्ना भएको भए बाध्यताले भएपनि विद्यार्थी पढ्न आउँथे होला । अब त विद्यालयको गतिविधि भर्ना अभियानदेखि नै सुरु गर्नुपर्ने भएको छ ।
तर कक्षाकोठा नहुँदा पनि विद्यार्थीलाई विद्यालयमा आकर्षण गर्न सकिने बताउनुहुन्छ शिक्षाविद् विद्यानाथ कोइराला । उहाँ भन्नुहुन्छ ‘पढ्नलाई भवन नै चाहिन्छ भन्ने छैन कमसेकम अहिले उनिहरुलाई टहरामुनी राखेर केही अध्ययन अनुसन्धान गर्न लगाउने वा उनीहरुका भूकम्प अनुभव सुनाउन लगाउने गर्न सकियो भने पनि विद्यार्थीको लागि फाइदा हुन्छ ।’
शिक्षाविद् कोइरालाको सुझाव छ, ‘विद्यालय भत्किए भनेर धेरै चिन्ता लिइरहनु आवश्यक छैन, हामीले २र४ विद्यालयका विद्यार्थीलाई एकै ठाउँमा भेला गरेर पनि पढाउन सकिन्छ किनकी तत्कालै पहिलाको जस्तो वातावरण त कहाँ बनाउन सकिन्छ र रु’
अहिले भत्किएका विद्यालयको पुनर्निर्माण गर्न १० अर्ब रुपैयाँको खाँचो पर्ने देखिएको छ । भत्किएका विद्यालय पहिलेको अवस्थामा ल्याउन तत्काल संभव छैन । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल विद्यार्थीको पढ्ने वातावरण बनाउन सरकार लागिपरेको बताउनुहुन्छ । ‘सरकारलाई आर्थिक भार त पर्यो तर सबै मिल्यो भने यो समस्या पार लगाउन सकिन्छ हामीले अनेक समस्या देखाएर विद्यार्थी तर्साउने होइन हौसला दिनुपर्छ’ उहाँले भन्नुभयो,‘ सम्भव भएसम्म सरकार सबै विद्यालय जेठ १ गतेदेखि सञ्चालन गर्ने हो कुनै हालतमा पनि सम्भव नभएकालाई सरकारले तत्कालै अर्को विकल्प दिन्छ ।’
विपदको यो बेला दीर्घकालिन सोच बनाएर अघि बढ्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतिर तत्काल विद्यालयमा पढ्ने वातावरण बनाउनुपर्छ । भत्केको विद्यालय भवन र कक्षाकोठा देखेर तर्सने वातावरण भएन भने मात्रै विद्यार्थीले ढुक्कसँग पढ्न सक्छन् ।












