२६ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्रीहरुले राष्ट्रिय विपत्तीको सामना गर्न राज्य सयन्त्र प्रभावकारी नदेखिएको भन्दै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता भएको धारणा राखेका छन् ।
व्यवस्थापिका संसदको शनिबारको बैठकमा उनीहरुले महाभूकम्पपछि प्रभावकारी पुनर्निमाणका लागि राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड दिए । बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता शेरबहादुर देउवाले महाविपत्तीको बेला गरिएको सरकरा र नेताको आलोचनाबाट नआत्तिन आग्रह गरे । आलोचनाबाट प्रजातन्त्र खत्तम भयो भनेर चिन्ता लिनु नपर्ने भन्दै उहाले जनताले दबाव मात्र दिएको बताए । उहाले घर निर्माणमा कडा नीति ल्याउनुपर्ने र भुकम्पजस्ता विपत्तिको सम्बोधन गर्न बेग्लै मन्त्रालय बनाउनुपर्नेमा जोड दिए ।
बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले राज्य संयन्त्र प्रभावकारी नदेखिएको आरोप लगाए । उहाले महाविपत्तीको स्थिति सामना गर्न राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने धारणा राखे । नेपालले महाविपत्तीको सामना गर्न राजनीतिक दल र जनताबीच देखिएको एकता सह्राहनीय भएको उल्लेख गरे ।
त्यस्तै पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले भूकम्प प्राकृतिक मात्र नभएर राजनीतिक, सामाजिक र आर्थिक भूकम्प भएको धारणा राखे । उहाले अब केही दशकको राजनीति परम्परागत ढंगले अघि बढ्न नसक्ने भन्दै विचार, पार्टी, समूहभन्दा माथि उठेर राजनीतिलाई नयाँ दिशा दिनुपर्ने बताए ।
राप्रपा संसदीय दलका नेता दीपक बोहराले २०६६ सालमै बनाइएको दैवीप्रकोप नीति कार्यन्वयन नभएको भन्दै सरकारहरु जिम्मेवार नभइको आरोप लगाए । तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले विपत्तीको बेला सरकारमा समन्वयको कमी देखिएको आरोप लगाए ।











