२५ वैशाख, काठमाडौं । महाभूकम्प गएको चौधौं दिनसम्म पनि पराकम्पका रुपमा भूकम्प निरन्तर गइरहेको छ । चौधौं दिन विहान मात्रै पनि चार रेक्टरस्केलभन्दा माथिका तीन भूकम्पहरु गएका छन् ।
शुक्रबार विहान ५ रेक्टर स्केलको भूकम्प गएको छ । विहान ६ बजेर १७ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको केन्द्रविन्दू दोलखा र सिन्धुपाल्चोक सीमानामा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसअघि शुक्रबार विहान २ बजेर १९ मिनेट र ८ बजेर १९ मिनेटमा पनि भूकम्प गएको थियो । यी दुबै भूकम्पको केन्द्रविन्दु पनि सिन्धुपाल्चोक जिल्लामा थिए । यी धक्का ४ रेक्टर स्केलका थिए ।
विहीबार पनि तीनपटकसम्म धक्का गएका थिए । भूकम्पविदहरुले शक्तिशाली भूकम्पपछि साना पराकम्पहरु जाने भन्दै त्यसबाट नआत्तिन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् ।
५ रेक्टर स्केलसम्मका धक्काहरु खासै हानिकारक नहुने बताइए पनि सचेत रहन भूकम्पविद्हरुले आग्रह गरेका छन् । ठूलो भूकम्पले चर्किएका घरहरुमा साना धक्काहरुले थप क्षति पुग्ने भन्दै विज्ञहरुले सचेत रहन आग्रह गर्दै आएका छन् । चर्किएका घरहरु बस्नयोग्य भए – नभएको प्राविधिकहरुबाट यकीन गराएर मात्रै बस्न विज्ञहरुले सुझाव दिएका छन् ।
ठूलो भूकम्प गएको लामो समयसम्म पनि पराकम्पहरु गैरहने भए पनि निश्चित कहिलेसम्म पराकम्प आउछन् भन्ने यकीन कसैले गर्न सकेको छैन । सामान्यतया विज्ञहरुले एक हप्तासम्म मध्यम खालका पराकम्प जाने बताए पनि दुई हप्तासम्म पनि पाँच रेक्टर स्केलका भूकम्प गैरहेका छन् । पराकम्पहरु महिनौंसम्म पनि गैरहने उदाहण विश्वका विभिन्न भूकम्पहरुका क्रममा देखिएको छ ।











