२३ वैशाख, भारत । बलिउड अभिनेता सलमान खानलाई मुम्बईको एक अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ । रक्सीले मातेर गाडी चलाएको र सडकमा सुतेकालागि किचेर भागेको आरोपमा दोषि ठहर गर्दै अदालतले उनलाई ५ वर्ष जेल सजाय तोकेको हो ।
घटना भएका बेला सलमानले गाडी चलाएको र उनीमाथि लागेका सबै आरोप प्रमाणित भएको अदालतले जनाएको छ । सलमानमाथि सन् २००२ सेप्टेम्बर २८ को राति सडकमा सुतिरहेका व्यक्तिमाथिबाट गाडी चलाएको आरोप लागेको थियो ।
सलमानले चलाएको गाडीले च्यापिएर एक जनाको ज्यान गएको थियो भने अन्य चार जना घाइते भएका थिए । तर सलमान खानले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका थिए । सलमानले घटना भएका बेला आफूले गाडी नचालको र आफू नशामा पनि नरहेको बताउँदै आएका छन् ।
सलमान खानलाई आज नै मुम्बइको अर्थरोड जेल लगिने बताइएको छ ।
फैसला आएपछि सलमान निराश देखिएका थिए । उनले अब जमानतका लागि भारतको सर्वोच्च अदालतमा अपिल गर्न सक्छन् । सलमान सन् २००२ को अक्टुबर ७ बाट १८ दिन जेलमा बसेका थिए । सलमानलाई ५ बर्षको जेल सजायँसँगै २५ हजार जरिवाना पनि तिराइएको छ । तर, पीडितहरुले मागेको मुआब्जाको बिषयमा अदालतमा कुनै बहस भएको थिएन ।
मुम्बइको सेसन कोर्टले उनमाथि लागेको सबै आरोपमा दोषी देखाएको हो ।
सलमान खानको फैसला आएपछि उनकी बहिनी अर्पिता खान रोएकी थिइन् । आमाको स्वास्थ्य अवस्था पनि खराब भएको भारतीय संचारमाध्यमले जनाएका छन् । सलमानका दुई भाई अरवाज खान र सोहिल खान पनि खुबै निराश देखिएका छन् ।
सलमान खानलाई बलिउडले भने पूर्ण रुपमा समर्थन गरेको छ । ट्विटरमा उनको समर्थनमा बलिउड कलाकारले ऐक्यवद्धता देखाएका छन् ।
यो मुद्दाको बिषयमा अन्य केही फैसला अझै पनि आउने बाँकी नै छ । सलमानको यतिबेला दुई चलचित्र ‘प्रेम रतन धन पायो र बजरंगी भाइजान’को छायांकन भैरहेको छ ।











