१६ वैशाख, काठमाडौं । भूकम्पपछि पुरिएका एक युवकको ८२ घण्टापछि जिवितै उद्दार गरिएको छ । अर्घाखाचीका २८ वर्षीय ऋषि खनालको गत राति ११ बजे फ्रान्सेली उद्धार टोली र शसस्त्र प्रहरी बलले उद्दार गरेको हो । लगातार १० घण्टाको प्रयासपछि खनालको जीवित नै उद्धार भएको हो ।
अन्य दुई जना साथीसंग काठमाडौं आएका उनी गोंगाबु बसपार्क्स्थित सयपत्री गेष्ट हाउसमा बसेका थिए । उनका अन्य दुई साथीको मृत्यु भइसकेको छ । उद्दार लगत्तै उनले आफूलाई उद्दार गर्ने टोलीलाई पटक पटक धन्यवाद दिए । उक्त गेष्ट हाउसमा बस्ने अधिकांश पाहुना विदेश जाने तयारी गरिरहेका र विदेशबाट फर्किएकाहरु थिए ।
शनिबार नेपालको विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण उपत्यकामा मात्रै दर्जनौं पुरिएको आशंका छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीसहित विभिन्न देशका उद्दार टोलीले पुरिएकाहरुको उद्दार कार्य जारी राखेका छन् । भूकम्पमा परी ५ हजार बढीको मृत्यु भइसकेको छ ।











