१० वैशाख, काठमाडौं । नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सहमतिमा कति प्रदेश रहने भन्ने निर्धारण गरेर प्रदेशको सिमाङकनको जिम्मा आयोगलाई दिने विषयमा दलहरुबिच छलफल भइरहेको जानकारी दिएका छन् । काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता बडुले अहिलेसम्म सहमति नभएको विषय संघीयता मात्रै भएको दावी गरे ।
दलहरुबिच प्रदेश संख्यामा लगभग सहमति भइसकेको र नामाकरण प्रदेश सभालाई दिनेमा कसैको विमति नरहेको खुलासा गरे । सिमाङकनलाई अहिलेसम्म भएका छलफलका आधारमा विज्ञहरुले टुङग्याउने गरी अहिले सहमति भएका विषयलाई मस्यौदा निर्माणमा लानु पर्नेमा सहमति हुने पनि उनले बताए
संविधान निर्माण प्रक्रिया निर्णायक चरणमा पुगेको र एमाओवादीको आन्दोलन छाडेर वार्तामा आउने निर्णय सकारात्मक रहेकोले आफूहरुले सहमतिको लागि प्रयत्न गरिरहेको उनको भनाइ थियो । प्रवक्ता बडुले केही दिनभित्रमै एमाओवादी नेतृत्वको विपक्षी मोर्चा संविधानसभामा फर्कने दावी गरे ।











