९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरु बुरुक्क उफ्रेर एक मधेश भनेका भरमा आफूहरु नझुक्ने चेतावनी दिएका छन् । नेकपा एमालेको ६७ औं स्थापना दिवसका अवसरमा वुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले एमाओवादी र मधेसकेन्द्रित दल उफ्रँदैमा केही नहुने बताएका हुन् । विपक्षीहरुलाई तमासा नदेखाइ संविधान बनाउन तर्फ लाग्न समेत उनले आग्रह गरे।
अध्यक्ष ओलीले संविधानसभाभित्र पनि विपक्षीहरुले सभासद्हरुलाई माइकले हान्ने भन्दा तर्कसंगत कुरा गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए । तर्कपूर्ण कुराको बहस भएमा सबैलाई अपन्वत्व हुने संविधान जारी हुनेमा विश्वास समेत उनले व्यक्त गरे ।
अब धेरै समय खेर फाल्न नहुने भन्दै ओलीले एमाले यसमा कटिबद्ध भएर लाग्ने प्रण समेत गरे । दलहरुबीच सबै विषयमा सहमति नहुने भए आजसम्म भएका सहमतिलाई संविधानका रुपमा जारी गर्ने र विवादित विषयमा पछि सहमति जुटाउँदै लैजाने धारणा व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीलाई सही धारमा ल्याउने माध्यम एमालेले खोज्नु पर्नेमा जोड दिए ।











