९ वैशाख, काठमाडौं । जाजरकोटमा फैलिएको महामारी नियन्त्रणमा लिन १० दिनसम्म लाग्न सक्ने जानकारी सरकारले जनाएको छ । जाजरकोटको महामारी सम्बन्धमा जानकारी लिन महिला बालबालिका,जेष्ठ नागरिक तथा समाजकल्यण समितिले बोलाएको बैठकमा सरकारी प्रतिनिधीले हालसम्म त्यहाँ २४ जनाको मृत्यु भइसकेको जानकारी दिईएको हो । ४ हजार १ सय ७० जनाको अहिलेसम्म स्वास्थ्य परीक्षण गरिसकिएको र महामारी ९० प्रतिशतसम्म नियन्त्रण गर्न १० दिनसम्म लाग्ने सरकारी प्रतिनिधीहरुको भनाइ छ ।
बैठकमा सभासद्हरुले सरकारले रोग प्रभावित क्षेत्रलाई कामभन्दा बढी प्रचार गरेको भन्दै विशेष महामारी क्षेत्र घोषणा गरी विशेष अभियान सुरु गर्न आग्रह गरेका छन । जनताको स्वास्थ्यमाथि गम्भीरता अपनाउन आग्रह गर्दै महिला बालबालिक,जेष्ठ नागरिक तथा समाजकल्याण समितिको वैठकमा सभासद्हरुले स्वास्थ्यमन्त्रीको समेत आलोचना गरेका छन । बैठकमा स्वास्थ्य तथा जनसंङख्या मन्त्री खगराज अधिकारीले सरकारले प्रभावित क्षेत्रमा गरिने कामका लागि कुनै पनि कन्जुस्याइँ नगरेको जानकारी गराएका थिए ।
छलफल पछि बैठकले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणमा आउने क्रम जारी रहेको ठहर गरेको छ । त्यस्तै बैठकले भबिष्यमा हुन सक्ने महामारीको पूर्व तयारी र जनचेतनामुलक कार्यक्रम गर्न स्वास्थ्य मन्त्रालयलाई जानकारी दिइएको समिति सभापति रञ्जुकुमारी झाले जानकारी दिइन् ।
पछिल्ला दिनमा नयाँ रोगी नभेटिएको भन्दै हप्ता १० दिनमा प्रभावित क्षेत्रमा भने रोग नियन्त्रण हुने अवस्था रहदै गएको रोग नियन्त्रण विभागले जनाएको छ ।











