६ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेताहरुको ओत नलागे युवा संघ भित्रको विवाद समाधान हुने बताएका छन् । काठमाडौँमा मंगलबार आयोजित युवा संघ नेपालको कार्यक्रममा बोल्दै महासचिव इश्वर पोखरेलले नेताहरुको ओत लाग्ने प्रवृत्तिले संगठनमा समस्या सिर्जना भएको बताए ।
उनले नेताहरुलाई निवासमा भेटेर समस्या राख्ने प्रवृत्ति हटाउन समेत आग्रह गरे । युवा संघको समस्या युवा फाँटले समाधान गर्ने भन्दै उनले शीर्ष नेताहरुसँग हार गुहार नगर्न आग्रह गरे । उनले पार्टी र संगठन एकता बनाउन महाधिवेशनले पारित गरेका विधान विनाशर्त स्वीकार गर्नुपर्ने बताए ।
उनले युवा संघभित्रको समस्या छिट्टै हल गर्न युवा फाँट प्रमुख तथा युवा संघ इन्चार्जलाई निर्देशन दिए ।
यस्तै कार्यक्रममा बोल्दै उद्योग मन्त्री महेश बस्नेतले अन्तर्राष्ट्रिय स्वार्थ पूर्तिका लागि केहि दलहरुले एकल जातिय राज्यको माग गरेको दावी गर्नु भयो । अन्तर्राष्टिय स्वार्थ अनुसार एक मधेश एक प्रदेश र एकल जातिय राज्यको माग भएको उद्योगमन्त्री वस्नेतको दावी थियो ।
कार्यक्रममा नेकपा एमालेका युवा फाँट प्रमुख शेरधन राईलाई स्वागत गरिएको थियो । यस्तै कार्यक्रममा युवा संघ नेपालका इन्चार्ज शेरबहादुर तामाङलाई विदाइ गरिएको थियो ।











