७ वैशाख, काठमाडौं । वैशाख १० गतेबाट नयाँ संविधानको मस्यौदा लेखन प्रक्रिया अघि बढाउन प्रमुख तीन दल सहमत भएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले सहमति भएका विषयहरुलाई मस्यौदा समितिमा पठाउने र मिल्न बाँकी विषयमा सहमतिको प्रस्यास जारी राख्ने सैद्धान्तिक सहमति भएको छ । यससँगै १० गते बस्ने संविधानसभाको बैठकले कुनै न कुनै ढंगले अब संविधानको मस्यौदा लेखन प्रक्रिया अघि बढाउने भएको छ । माघ ५ गते भएको सहमतिलाई मूर्तरुप दिएर मस्यौदामा पठाउने र मिल्न बाँकी विषयमा छलफल गर्दै जान दलहरुबिच सैद्धान्तिक रुपमा सहमत भएको नेताहरुले जानकारी दिएका छन् ।
बैठकले सहमति नजिक पुगेका न्याय प्रणाली, निर्वाचन प्रणाली, शासकीय स्परुप र संघीयताबारे सहमति खोज्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले आफू सोमबार नै इण्डोनेसिया भ्रमणमा जाने भएकाले पार्टीका नेतालाई जिम्मेवारी दिने बताएका छन ।











