५ वैशाख, काठमाडौं । काठमाडौंको वाँसबारीस्थित गंगालाल अस्पतालको झ्यालबाट हामफालेर एक विरामीले आत्महत्या गरेका छन् । अस्पतालमा उपचार गराइरहेका मुटुका एक विरामीले उपचार गरिरहेकै अस्पतालबाट हामफालेर आत्महत्या गरेका हुन् ।
सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ घर भएका ४६ वर्षीय सुरजमान श्रेष्ठले काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रको चौथो तलाबाट शनिबार बिहान हामफालेर आत्महत्या गरेका हुन् ।
गत २० वर्षदेखि मुटुको उपचार गराई औषधि खाइरहेका कांग्रेसका पूर्वमहासमिति सदस्य समेत रहेका श्रेष्ठले बिहान ६ बजेर ५० मिनेट अस्पतालबाट हामफालेपछि तत्कालै उनको ज्यान गएको हो ।
२०५२ सालदेखि खाइरहेको मुटुको औषधि र मुटुसमेत फेर्नुपर्ने जानकारी चिकित्सकहरुले उनको परिवारलाई गराएका थिए ।
चिकित्सकहरुले मुटुसमेत फेर्नुपर्ने कुरा बताएपछि उपचार खर्चको अभावमा तनावमा आएका श्रेष्ठ हामफालेको हुनसक्ने अनुमान गरिएको छ ।
लामो समय औषधि खाँदा समेत काम नगरेपछि श्रेष्ठ निराश भएका थिए । वीपी चिन्तन प्रतिष्ठान सिन्धुपाल्चोकका अध्यक्षसमेत रहेका श्रेष्ठले उपचार खर्चको अभावमा तनावमा आएर हामफालेको पारिवारिक श्रोतको भनाइ छ ।












