यो सृष्टि धान्ने आमाको पूजा गर्नु सनातन हिन्दू धर्म दर्शनको एउटा महत्त्वपूर्ण पक्ष हो । आफूलाई जन्म दिने आमालाई साक्षात् देवीका रुपमा पूजा गर्न हाम्रा धर्मशास्त्रहरुले सिकाएका छन् । त्यसैले हिन्दूहरु आमालाई वर्षभरि त पूजा गर्छन् नै त्यसमा पनि आमाकै लागि समर्पित मातातीर्थ औंसीमा भने विशेष पूजा गर्दछन् ।

मातातिर्थ औंसीलाई नेपाली समाजमा आमाको मुख हेर्ने दिनका रुपमा लिने गरिएको छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनान्छ । बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।
आमा दिवगंत हुनेहरूले आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्दछन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको थानकोटमा रहेको मातातिर्थमा हरेक वर्षजस्तै आज पनि मेला लागेको छ । 
बिहान सबेरैदेखि मातातीर्थ कुण्डमा स्नान गर्नेहरुको भीड छ । मेलामा सहभागी भई कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रहेको छ ।

मातातीर्थ कुण्डको जलमा आज हरेक मानिसहरुले स्वर्गीय आमाको प्रतिविम्ब देख्दछन् भन्ने जनविश्वास रहेको छ । माता तीर्थमा आमाको प्रतीक स्वरुप एउटा सालिक समेत स्थापना गरिएको छ ।











