राजा वीरेन्द्रसँग सपथ लिंदै थापा
३ वैशाख, काठमाडौं । वुधबार राति १०ः४४ मा भारतको मेदान्त अस्पतालमा निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पञ्चायतकालदेखि सविधान सभाकालसम्म नै राजनीतिको केन्द्रमा रहे । ८८ वर्षको उमेरमा निधन भएका थापा विगत पचास वर्षको नेपाली राजनीतिको केन्द्रमा लगातार रहेको विश्लेषण विश्लेषकहरु गर्दछन् ।
उपचारका क्रममा थापालाई गत चैत १६ गते उपचारका लागि दिल्ली लगिएको थियो । स्वास प्रस्वासमा समस्या भएपछि मेदान्त अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपाचार गरिएको र सोही क्रममा उनको मृत्यु भएको
धनकुटा जिल्लाको मुगा गाविसमा सन १९२८ मार्च २१ मा जन्मेका सूर्यबहादुर थापा राजा महेन्द्रको शासनकालमा २०२२ देखि २६ सालसम्म, राजा वीरेन्द्रका पालामा २०३५ देखि २०३८ सम्म र २०३८ देखि २०४० सालसम्म तथा राजा ज्ञानेन्द्रका पालामा २०५९ देखि २०६० सम्म तथा नेपाली कांग्रेसको समर्थनमा २०५४ देखि २०५५ सालसम्म गरी पाँचपल्ट नेपालको प्रधानमन्त्री बनेका थिए ।
नेपालको राजनीतिमा अरुभन्दा परिपक्व खेलाडी मानिने थापाको राजनीतिक जीवन भने नेपाली कांग्रेस पार्टीबाट शुरु भएको थियो । २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था मासेर पञ्चायती शासन शुरु गरेपछि थापा कृषि, वन तथा उद्योगमन्त्री बन्दै राजाको पक्षमा लागेका थिए । त्यसपछि विभिन्न मन्त्रालयको जिम्मेवारी समेत उनलाई प्राप्त भयो । थापा २०२२ सालमा पहिलोपल्ट प्रधानमन्त्री बनेका थिए ।
जनमत संग्रहमा पञ्चायतलाई जिताउने नाइके तथा आफ्नै गृह जिल्लाको छिन्ताङ्गमा हत्याकाण्ड गर्ने व्यक्ति थापा भएकोले कम्युनिस्ट र कांग्रेसले उनलाई अग्रगमन विरोधी खलनायकका रुपमा व्याख्या गर्ने गर्दथे । पिस्कर काण्डका नाइके पनि उनैलाई मानिन्थ्यो । ती हत्याकाण्डमा पञ्चायती व्यवस्थाका विरुद्धमा आन्दोलन गर्ने क्रान्तिकारीलाई नियन्त्रणमा लिएर हत्या गरिएको थियो ।
त्यतिमात्र होइन उनलाई सामन्त भन्दै मुगास्थित उनको घर द्वन्द्वकालमा किराँत वर्कस्का कार्यकर्ताले जलाएका थिए ।
तर २०४६ सालपछि पनि कांग्रेसकै समर्थनमा उनी प्रधानमन्त्री बने भने पछिल्लो संविधान सभामा सबै क्रान्तिकारी शक्तिका सदस्यहरुले उनै थापाबाट सपथ ग्रहण गरे ।
२०४६ सालपछि राप्रपा गठन गरेका थापाले पछि लोकेन्द्रबहादुर चन्दको राप्रपासँग पार्टी एकीकरण गरे । राप्रपालाई उनले फुटाएर राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । केही समयपहिले पार्टी एकीकरण गरेर अध्यक्ष भएका थापाले नेतृत्व पशुपति शमशेरलाई हस्तान्तरण गरे । थापाको निधन हुँदाका वखत यतिवेला उनको पार्टी फेरि पनि विभाजनको संघारमा छ ।











