प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा लगानीको वातावरण बनिरहेको बताएका छन् । उद्योग वाणिज्य दिवस २०७१ को अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, सदस्य र उद्यमी व्यापारीहरुको सम्मानमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री कोइरालाले मुलुकमा लगानीको वातावरण बनिरहेको भन्दै आत्मविश्वासका साथ काम गर्न आग्रह गरे ।
उनले मुलुकमा राजनीतिक स्थायित्व कायम हुने र संविधान आउने पनि बताए । प्रधानमन्त्री कोइरालाले नेपाली कांग्रेस र सत्तासमर्थित राजनीतिक दलहरुले संविधान निर्माणका विषयमा अत्यधिक लचकता अपनाएको पनि उल्लेख गरे । प्रधानमन्त्री कोइरालाले प्रदेशको संख्या,नामाङ्कन र सीमाङ्कनको विषय सहमतिमा पुग्न बाँकी रहेको र त्यसमा पनि लचकताका साथ संवाद भएको खुलासा गरे ।
उनले २०४६ सालमा प्रजातन्त्रको पुनरोदय भएपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेसको सरकारलाई काम गर्न नदिएर ३ वर्षमा नै गिराइएको त्यस पछिका सरकारलाई पनि पूर्णावधि काम गर्न नदिइएको उल्लेख गरे ।











