२६ चैत, काठमाडौं । नेकपा एमालेले चैत्र ३० गतेभित्र दलहरुबीच संविधान लेखनका विवादित विषयमा सहमति नबने प्रक्रियाबाटै संविधान जारी गर्ने गरी अघि बढनुपर्ने स्पस्ट पारेको छ ।
प्रक्रियामै गएर संविधान लेखन गर्नुपर्नेमा राष्ट्रपतिको समेत सकारात्मक पहल आवश्यक भएको एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिसँग आग्रह गरेका छन् ।
विहीबार शितल निवास पुगेर आलीले राष्ट्रपति डा. रामवरण यादवसँग प्रक्रियामा गएर कांग्रेस एमालेको एजेण्डाअनुसारको संविधान ल्याउनुपर्ने कुराकानी गरे ।
एमालेका शीर्ष नेताहरुले सहमतिका लागि हदैसम्मको प्रयास गर्ने र त्यसो हुन नसके प्रक्रियामा जानु आफूहरुको बाध्यता हुने धारणा ओलीले यादवसँग राखेका थिए ।
भेटमा राष्ट्रपति यादवले सहमतिका आधारमा संविधान जारी गर्नका लागि प्रयासरत रहन आग्रह गरेका थिए । दलहरुबिच बिबादित बिषयमा सहमति खोज्दै संबिधान लेखन कार्यलाई अघि बढाउनुपर्नेमा समेत यादवले जोड दिएका थिए ।
भेटपछि संचारकर्मीलाई प्रतिक्रिया दिंदै एमाले उपाध्यक्ष भण्डारीले आफूहरु सहमतिकै पक्षमा रहेको भन्दै सहमति नबनेको अवस्थामा प्रक्रिया थाल्न ढिलाइ गर्न नहुने कुरा राष्ट्रपतिसँग गरेको वताइन् ।
सबैलाई समेटेर अघि बढ्ने गरी भूमिका निर्वाह गर्न राष्ट्रपतिले एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको समेत भण्डारीले जानकारी दिइन् ।











