२६ चैत, काठमाडौ । सत्तारुढ कांग्रेस –एमाले विपक्षी मोर्चासँग सहमति गर्नका लागि आफूहरु लचक हुने भन्दै भित्री तयारी भने संविधान सभामा प्रक्रिया सुरु गर्ने किसिमले गरेका छन् । मोर्चासँग सहमति भए पनि नभए पनि ३० गतेपछि संविधानसभाको प्रक्रिया सुरु गर्ने निर्णय दुई दलले गरेका छन् । विहीबार बालुवाटारमा बसेको दुई दलको बैठकले मोर्चासँग वार्ता पनि गरेजस्तो गर्ने तर भित्री रुपमा भने संविधान सभाको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको हो ।
बैठकबाट बाहिरिंदै एमाले नेता माधवकुमार नेपालले ३० गतेसम्म एमाओवादीसहितको विपक्षी मोर्चासँग छलफल गर्ने र त्यसपछि प्रक्रिया सुरु गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकबाट बाहिरिंदै कानुनमन्त्री नरहरि आचार्य र कांग्रेस नेता पूर्णबहादुर खड्काले पनि एमाओवादीसँग अधिकतम लचकतासहित वार्ता गर्ने र ३० गतेपछि संबिधानसभाको प्रक्रिया सुुरु गर्ने निर्णय भएको बताए ।
संबिधानसभाबारे छलफलका लागि २८ गते कांग्रेस र एमालेको पुन बैठक बस्ने गरी विहीबारको बैठक सकिएको उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले जानकारी दिए ।
विपक्षीको बहिष्कारको कारण दुई महिनापछि सोमबार बसेको संबिधानसभाको बैठक सभामुख सुबासचन्द्र नेम्वाङले ७ दिन स्थगित गर्दै चैत ३० गतेका लागि सारेका थिए । माघ ११ देखि संबिधानसभामा सुरु भएको बहुमतीय प्रक्रियाको विरोधमा प्रतिपक्षी मोर्चाले बैठक बहिष्कार गर्दै आएको थियो ।
विपक्षी मोर्चाले घोषणा गरेको तीन दिने आमहडताललाई छोट्याएर एक दिनमात्र गरेको थियो । सत्तापक्षीय दलको आग्रहका कारण दुई दिनको आमहडताल मोर्चाले स्थगित गरेको दावी गरेको थियो । यसै विषयमा मोर्चाभित्र फुटको संकेत समेत देखिएको छ ।
यसैबीच विजय गच्छदार सरकारमा सहभागी हुने गोप्य तयारी भैरहेको समेत कांग्रेस एमाले स्रोत बताउँछ ।











