२४ चैत, विराटनगर । मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारमा द्वैध चरित्र देखिएको आरोप लगाएका छन् ।
मंगलवार विराटनगरस्थित आफ्नै निवासमा भएको पत्रकार भेटघाटमा बोल्दै यादवले सत्तारुढ दल र विपक्षी मोर्चा दुवैसँग गच्छदारले दोहोरो चरित्र देखाएको आरोप लगाए । विजय गच्छदारले विगतमा पनि बारम्बार गद्दारी गरेको भन्दै यादवले अब त्यस्तो गद्दारी नगरी एउटा कित्तामा उभिनुपर्ने यादवले बताए ।
गच्छदारलाई विपक्षी दलहरुको आन्दोलनको समर्थन कि विपक्ष मध्ये एकमा स्पष्ट हुन आग्रह गरे । उनले गौरमा सोमवार भएको घटनाप्रति सरकार गैरजिम्मेवार भएको बताए । सरकारी दमनको उपज गौरघटना भएको उनको भनाइ थियो ।
तीस हजार सशस्त्र परिचालन गरेर घर घरमा गई दुःख दिने काम गरिएकोले नै जनताले प्रतिवाद गरेको यादवले बताए । सहमतिविना अघि बढेमा प्रमुख सत्ताधारी दलहरु कांग्रेस र एमाले समाप्त भएर जाने यादवले दावी गरे । संघीयताविनाको संविधान स्वीकार्य हुनै नसक्ने उनको भनाइ छ ।











