२४ चैत, काठमाडौं । तीस दलीय मोर्चाले आह्वान गरेको तीन दिने आमहड्तालको पहिलो दिन आज बिहानैदेखि ठाउँ ठाउँमा प्रदर्शन र झडप भएको छ । प्रदर्शनकारीले विभिन्न स्थानमा यातायातका साधनहरु जलाएका छन् ।
काठमाडौँको बानेश्वरमा बिहान ६ बजे नै बन्द गराउँदै हिँडेका बन्दकर्ता र प्रहरीबीच बिहानै झडप भएको छ । बिजुलीबजार पुलमा सार्वजनिक सवारी साधन रोक्न खोज्दा भएको झडपमा एमाओवादीका युवा नेता अध्यक्ष हिमाल शर्मा घाइते भएका छन् । उनको टाउको र खुट्टामा सामान्य चोट लागेको छ । प्रहरीले शर्मालाई पक्राउ गरेको छ ।
शर्मालाई वानेश्वर वृत्तबाट प्रदर्शनीमार्गको नेपाल पुलिस क्लबमा भ्यानमा लैजाँदै गर्दा विजुलीबजारमा प्रदर्शनकारीले अवरोध गरेका थिए । प्रहरी भ्यानमा आक्रमण गर्न खोज्दा प्रहरीले समेत लाठी चार्ज गर्नुका साथै अश्रुग्यास तथा गोली समेत चलाएको थियो ।
झडप भएकै स्थानबाट प्रहरीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल र ज्वाईं सागर केसीसहित आधा दर्जन बन्दकर्तालाई पक्राउ गरेको छ । सो क्रममा केहीबेर झडप समेत भएको यिथो ।
काठमाडौंको भाटभटेनी स्टोर नजिकै वन्दकर्ताले एफजेड मोटरसाइकल जलाएका छन् । त्यस्तै भैरहवास्थित वुद्ध चोकमा समेत भारतीय नम्बर प्लेटको मोटरसाइकल बन्दकर्ताले जलाएका छन् ।











