२३ चैत, काठमाडौं । सर्वोच्च अदालतको फैसलाविरुद्ध सबै माओवादी पार्टीहरु एक भएर प्रदर्शनमा उत्रिएका छन् । सोमबार राजधानीमा गरिएको जुलुस तथा विरोध कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा एमाओवादी, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी), मातृका यादव नेतृत्वको नेकपा माओवादी, परी थापा नेतृत्वको नेकपा एकीकृत र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी सहभागी थिए ।
जुलुश तथा प्रदर्शनको नेतृत्वको एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले गरेका थिए । प्रदर्शनको नेतृत्व प्रचण्डले गरे पनि उनले कोण सभालाई सम्बोधन भने गरेनन् । शान्तिवाटिकामा पुगेर प्रचण्डले न्यायलयले दिउँसै अँध्यारो पारेको भनी प्रतीकात्मक रुपमा लालटिन बालेका थिए । प्रचण्डले न्याय खोज्न र शान्तिका लागि लालटिन बाल्दै शान्तिवाटिकामा कोण सभा गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै एमाओवादी महासचिव कृष्णबहादुर महरालल सर्वोच्च अदालतले कानुनको व्याख्या गर्ने नाममा बृहत शान्ति सम्झौता र अन्तरिम संविधानले व्यवस्था गरेको मेलमिलापको मूल मान्यता विपरीत आदेश जारी गरेको आरोप लगाए । सर्वोच्च अदालतको फैसला शान्ति प्रक्रिया विपरीत भएको टिप्पणी उनले गरे ।
विरोध सभामा बोल्दै नेकपा (माओवादी)का संयोजक मातृका यादवले सडक आन्दोलनबाटै शान्तिप्रकृयालाई टुङ्गोमा पु¥याउनु पर्ने बताए । माओवादी आन्दोलन कमजोर बनेका कारण राज्यले माओवादीलाई सड्यन्त्रपूर्व जेल हाल्न लागेको भन्दै नेता यादवले सबै मओवादी एक हुनुपर्ने बताए ।
यसैगरि नेकपा–माओवादीका सचिव देव गुरुङले शान्ति सम्झौता निष्कर्षमा नपुगे फेरि अर्को जनआन्दोलन हुने चेतावनी दिए । उनले जनताका अधिकार स्थापित नभए फेरि जनमुक्ति सेना गठन गर्ने बताउनु भयो । सर्वोच्च अदालतको आदेश शान्ति सम्झौता विरोधी भएको भन्दै उहाँले त्यो सम्झौता सच्चाउन आग्रह समेत गरे ।
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठ तथा न्यायाधीशद्वय वैद्यनाथ उपाध्याय र चोलेन्द्र शम्शेर जबराको विशेष इजलासले नियमित अदालतमा रहेका द्वन्द्वकालीन मुद्दाहरु फिर्ता नगरिने आदेश दिएको थियो । तत्कालीन नेकपा माओवादीका कतिपय नेता र कार्यकर्तािवरुद्ध अहिले पनि विभिन्न अदालतमा गम्भीर मानवअधिकार उल्लङ्घनदेखि चोरी र लुटपाट, हत्या, बलात्कार जस्ता मुद्दाहरु विचाराधीन छन् ।











