२३ चैत, काठमाडौं । संविधान सभा बैठक चैत ३० गतेसम्मका लागि स्थगित गरिएको छ । संविधा सभा भवन नयाँ वानेश्वरमा बसेको आजको संविधान सभा बैठकले अर्को बैठक ३० गतेका लागि तोकेको हो ।
एमाले नेता तथा राज्य व्यवस्था समितिका पूर्व सभापति रामनाथ ढकाल र पूर्व गृहराज्यमन्त्री महेन्द्र यादवको निधनमा अलग अलग शोक प्रस्ताव पारित गर्दै बैठक ३० गते सम्मका लागि स्थगित भएको हो ।
शोक प्रस्ताव पारित गर्दा बैठकका अन्य कार्यसूची नराख्ने प्रचलन रहेको छ । सोमवारको बैठकमा शोक प्रस्तावको मात्र कार्यसूची रहेकाले विपक्षी मोर्चाका बिजय गच्छदार, गिरिराजमणी पोखरेल केही सभासद पनि सहभागी भएका थिए ।
२०५१ सालमा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका र २०६४ मा रुपन्देही ५ बाट संविधानसभा सदस्य निर्वाचित भएका ढकालको आइतवार निधन भएको थियो ।
त्यसतै २०४८ र २०५१ मा महोत्तरी १ बाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका यादवको चैत १७ गते निधन भएको थियो ।संविधान सभा बैठकप्रति आपत्ति जनाएका विपक्षी दलहरुले पनि शोक प्रस्ताव पारित गर्नका लागि समर्थन जनाएका थिए । विपक्षीकै आग्रहमा सभाध्यक्ष नेम्वाङले संविधान सभा बैठक एक हप्तासम्मका लागि स्थगित गरेका हुन् ।











