२३ चैत, काठमाडौं । सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै ६ वटा माओवादीले संयुक्त प्रदर्शन गरेका छन् । केहीबेर अगाडि बबरमहलबाट ६ पार्टीले संयुक्त जुलुस निकालेका छन् । जुलुशको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गरेका छन् । जुलुशले शान्ति वाटिकामा पुगेर कोणा सभामा गर्दै छ ।
सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादीले प्रदर्शन गरेका हुन् । बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नुपर्ने कार्य बारे अदालतले गत फागुन १४ गते गरेको फैसलाको सबै माओवादीले विरोध गरेका हुन् ।
वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठ तथा न्यायाधीशद्वय वैद्यनाथ उपाध्याय र चोलेन्द्र शम्शेर जबराको विशेष इजलासले सशस्त्र द्वन्द्वका समयमा भएका गम्भीर प्रकृतिका अपराधमा बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलापका सम्बन्धमा बनेको ऐनका ती विवादास्पद दफाका सम्बन्धमा पीडित केन्द्रित हुने गरी आदेश जारी गरेको थियो ।











