२० चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डका पदाधिकारी रकर्मचारीहरुले ३४ करोड ६९ लाख १८ हजार ३ सय ६१ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
पर्यटनबोर्डका २३ जना पदाधीकारीहरु तथा कर्मचारीहरुसँग ८१ करोड ६५ लाख ५० हजार १ सय ७० रुपैयाँ विगो एवं जरिवाना दावी सहित अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
भष्ट्राचार मुद्दा पर्नेहरुमा तत्कालीन कामु कार्यकारी प्रमुख सुभास निरौला, पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ, बोर्डका निमित्त निर्देशक अनिल दास लगाएत रहेका छन् । सुभास निरौला एक्लैले ३३ करोड, ७२ लाख ५५ हजार २९ रुपैयाँ भ्रष्ट्राचार गरेको ठहर अख्तियारले गरेको छ ।
यस्तै वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्व सचिव सुशिल घिमिरे, अर्थ मन्त्रालयका सहसचिव डिल्लीप्रसाद शिवाकोटी र वनमन्त्रालयका सहसचिव मेघबहादुर पाण्डे विरुद्ध भष्ट्राचार मुद्दा दायर भएको छ ।
बोर्डका पूर्व कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले २८ लाख ८० हजार, कायम मुकायम कार्यकारी अधिकृत सुवास निरौलाले ३३ करोड ७२ लाख ५५ हजार रुपैयाँ हिनामिना गरको अख्तियारको ठहर छ । अख्तियारले निरौलाबाट ३३ करोड ७२ लाख ५५ हजार रुपैयाँ बिगो असुल, त्यति नै रकम जरीवाना र १३ वर्षसम्म जेल सजाय माग गरेको छ । यस्तै भष्ट्राचार अभियोगमा मुद्दा दर्ता हुनेहरुमा पर्यटन बोर्डका निर्देशक नन्दनी लाहे, वरिष्ठ निर्देशक आदित्य बराल, निर्देशक हिक्मत सिंह ऐर, प्रबन्धक धुब्र राई रहेका छन् । यस्तै वरिष्ठ प्रबन्धक लिलाबहादुर बाँनिया, लगाएतका कर्मचारीहरु रहेका छन् ।













