२० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालमा भएका राजीतिक घटनाक्रमको विवरण बारे भारतीय विदेश सचिव सुब्रमण्यम जयशंकरालाई जानकारी गराएका छन् । ओली निवास वालकोटमा ओली र जयशंकरबीच शुक्रबार भएको भेटवार्तामा ओलीले नेपालको राजनीतिक घटनाक्रम र आगामी तयारीबारेको विवरण जयशंकरलाई बुझाएका छन् ।
एमाले अध्यक्ष ओलीले नेपालमा जारी राजनीतिक घटनाक्रम तथा संविधान निर्माणमा भैरहेको प्रगतिबारे जानकारी गराएको एमालेका प्रमुख सचेतक अग्नि खरेलले संचारकर्मीलाई जानकारी दिए । ओलीले नेपालका राजनीतिक घटनक्रममा भारतले गर्दै आएको सहयोगको स्मरण गर्नुभयो खरेलले भने । नेपालको संक्रमणकाल अन्त्य गरी स्थायित्व कायम गर्नका लागि दलहरुबीच छलफल जारी रहेको र नयाँ संविधानका विषयमा सहमति भएका विषयलाई समेटेर संविधान जारी गर्ने प्रक्रियामा आफूहरु रहेको आलीले जयशंकरसँग बताएको पनि खरेलले उल्लेख गरे ।
त्यस्तै भारतीय विदेश सचिव जयशंकरले नेपाल भारत सम्बन्धको चर्चा गर्दै नेपालमा छिट्टै संविधान आउने र स्थायित्व हुनेमा भारत आशावादी रहेको उल्लेख गरेको जानकारी एमाले नेता खरेलले दिए । भारतमा बहुजाति र बहुभाषी रहेको र त्यहाँ सबैबीच एकता रहेको भन्दै जयशंकरले सोही किसिमले नेपालको संविधानले पनि व्यवस्थापन गर्न सक्ने आशा व्यक्त गरेका थिए ।











