एमाले नेता नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबीच माघ ५ गतेको अवस्थाबाट वार्ता अगाडि बढाउनुपर्ने बताएका छन् । प्रेस चौतारीले विहीवार काठमाडौमा गरेको कार्यक्रममा एमालेका वरिष्ठ नेता खनालले दलहरुबीच संघीयता वाहेकका सबैजसो विषयमा सहमति भइसकेकाले माघ ५ गतेकै अवस्थाबाट वार्ता अगाडि बढाइए विवाद् टुंगिने बताए ।
उनले आफूहरु वार्ताबाट सहमति खोज्नका लागि तयार रहेको भन्दै सहमतिका नाममा संविधान बनाउने काममा अब ढिलाइ गर्न नहुने बताए । उनले संविधान निर्माणमा भएको ढिलाइका कारण गणतन्त्र विरोधीहरुले फाइदा लिन खोजिरहेको पनि बताए ।
एमाले वरिष्ठ नेता खनालले संघीयताको विषय थाँती राखेर भए पनि संविधान जारी गरिनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा एमालेका सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराईले संविधान निर्माणका विषयमा एमालेले लिएको अडानबाट आत्तिएकाहरुले एमालेलाई शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको आन्दोलनको विरोधीको रुपमा प्रचार गरेको आरोप लगाए ।
उनीहरुले ठूला संचार माध्यमहरुले व्यवसायिक मर्यादावाहिर एमालेलाई चिकित्सक केसीको आन्दोलनको विरोधी देखाएको आरोप लगाए ।











